प्रदेश राजधानी हेटौंडाको यस्तो हविगत !
बलराम पुडासैनी
मकवानपुर २१ असार । ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा सवारी पार्किङ अस्तव्यस्त छ । साँधुरो सडक तर सवारी संङख्या दिनदिनै बढ्दै गएपछि हेटौंडाका विभिन्न स्थानमा सडकनै ढाक्नेगरी सवारी रोकीएका दृश्य देखिन थालेका छन् । सर्वसाधारणलाई सास्ती त छदैं छ , ट्राफिक प्रहरी समेत आजभोली मोटरसाईकलको हेल्मेट उठाउने अनि हावा फुस्काई दिनेजस्ता काममा व्यस्त बनेका छन् । हेटौँडाका जुनसुकै चोकमा बस्ने ट्राफिक प्रहरीको व्यवहार सर्वसाधारणमैत्री छैनन् । ट्राफिक प्रहरीको व्यबहार र बोलिचालिदेखि आम सर्वसाधारण वाक्कै भएका छन् । सर्वसाधारणले लेन मिचेर सवारी साधान चलाउँदासमेत पत्तो पाउँदैनन् ट्राफिक प्रहरी ।

अझ मंगलबार विहानबाट हेटौंडा उपमहानगरपालिका र जिल्ला ट्राफिक कार्यालयले हेटौंडाको राप्तीरोडमा सवारी पार्किङ गर्न नदिएपछि हेटौंडामा तहल्का मच्चिएको छ । सवारी साधन रोक्न नदिएपछि ग्राहक आउँदैनन् भन्ने धारणा व्यवसायीहरुको छ । सामान किन्न जान सास्ती हुने सर्वसाधारणको गुनासो छ । उता नगरपालिका र जिल्ला ट्राफिक लगाएतका निकायहरुले भने सवारी पार्किङमा भएको अस्तव्यस्ततालाई कम गरी सवारी व्यवस्थापनमा आफुहरुको ध्यान गएको दाबी गर्दै आएका छन् ।

व्यवसायी भने आफुहरुलाई प्रत्यक्ष रुपमा असर परेको र भन्दै केहि सहजता होला की भन्दै मकवानपुर उद्योग वाणिज्य संघ गुहार्न थालेका छन् । यस विषयमा मकवानपुर उद्योग वाणिज्य संघले पनि छलफल अधि सारेको जानकारी छ । व्यवसायीलाई मर्का पर्ने भएकै कारण एकतर्फी भनेपनि पार्किङ गर्न दिनुपर्छ भन्ने धारणा मउवा संघको छ ।
सरोकारवाला निकायले सवारी पार्किङका लागि विकल्प नदिने अनि सडकका छेउमा पनि सवारी रोक्न नदिने भन्दै राप्तीरोडका व्यवसायीले गुनासो गर्न थालेका छन् । सरकारी कर तिरेकै छौं भाडा तिरेर बसेका छौं, राप्तीरोडमा सवारी रोक्न नदिएको कारण ग्राहक नै छैनन् व्यवसायनै डुब्लाकी भन्ने डर भो राप्तीरोडका आयूस सु सेन्टरका संचालकले तु खबरसंग गुनासो गरे । उनी त प्रतिनिधि पात्र मात्रै हुन् यस्ता गुनासा सुनाउने धेरै व्यवसायी छन् ।
हाल २५ मिटर सडक विस्तारको कुरा त्यतिकै सेलाएको छ । बाईपासबाट सडक विस्तार गर्ने अनि हेटौंडा जोगाउने भन्ने आवाज पनि बजारमा सुनिन्छ ।
अब साँच्चिकै मर्कामा पर्ने र अन्यत्र बसोबास गर्ने घर नभएकाहरुलाई क्षतिपुर्ति दिई सडक विस्तार गर्नुपर्ने आवाज पनि उठेका छन् । यस विषयमा संबन्धित निकायले छिट्टो छिनोफानो गर्नुपर्ने देखिन्छ । यसरी अलमलमा रहँदा हेटौंडा बजार अस्तव्यस्त भईनै रहन्छ ।
