एम.एस. धोनीको सिक्वेल बन्ने
एजेन्सी, २१ असार । चर्चित भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको जीवनमा आधारित बायोपिक ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ को दोस्रो सिक्वेल समेत निर्माण हुने भएको छ । दुई वर्षअघि निकै हिट भएको उक्त फिल्मको सिक्वेल निर्माणको तयारी थालिएका मिड डे अखबारमा समाचार प्रकाशित भएको छ ।
अर्को वर्ष प्रदर्शन गर्ने लक्ष्यका साथ फिल्मको तयारी सुरु भएको हो । चलचित्रमा धोनीको भूमिका फेरि एकपटक सुशान्त सिंह राजपूतले देखिने छन् । यसअघिको बायोपिकले धोनीले विश्वकप क्रिकेट भारतलाई जिताउँदासम्मको कथा बयान गरेको थियो । सिक्वेल अब यहाँबाट अगाडि बढ्ने बताइएको छ । यसमा धोनीले आइपीएलमा चेन्नई सुपर किङ्सको कप्तानी सम्हालेकोदेखि विजेता बनाएकोसम्म घटना समेटिने बताइएको छ ।
फिल्ममा धोनीको व्यक्तिगत जीवनलाई पनि फोकस गरिनेछ । सन् २०१५ को विश्वकप क्रिकेटमा भारत सेमिफाइनलमा पुग्दाको रोमाञ्चक खेलहरु यसमा देखाइनेछन् । फिल्मको लागि सुशान्तले तयारी सुरु गरिसकेको बताइन्छ । उनी नियमित क्रिकेट अभ्यास गरिरहेका छन् । चलचित्रकी नायिकामा भने दिशा पटानी दोहारिने छिन् वा अर्कै नायिका लिइने छ भन्ने तय भएको छैन ।
