चुनाव भएको ७ महिनापछि जलाइयो मतपत्र
खोटाङ, २० असार । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न भएको ७ महिनापछि खोटाङमा मतपत्र जलाइएको छ । २०७४ साल मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका क्रममा उपयोग गरिएका मतपत्र, मुचुल्का, मतदाता नामावलीलगायतका कागजात जलाएर धुलाइएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
दिक्तेलस्थित पूर्वाञ्चल सिंचाइ सब–डिभिजन कार्यालयको स्टोरमा सिलबन्दी गरेर राखिएको निर्वाचनसँग सम्बन्धित मतपत्र, मतपत्रको अर्धकट्टी, मतदानमा प्रयोग गरिएका मतदाता नामावली, सदर तथा बदर मतपत्र लगायतका कागजात बुधबार जलाइएको हो ।
निर्वाचनको मतपरिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारको योग्यताका सम्बन्धमा कुनै पनि उजुरी नपरेको ३ महिनाभित्र कागजात नष्ट गरिएको बताइएको छ ।
