भिमफेदीको प्रत्येक वडामा हाते ट्रयाक्टर वितरण

तु खबर संवाददाता
२०७५ असार २०, बुधबार १६:३०

मकवानपुर, २० असार । मकवानपुरको भिमफेदी गाउँपालिकाको प्रत्येक वडाका लागि २ वटाका दरले हाते ट्रयाक्टर वितरण गरिएको छ । गाउँपालिकाको कृषि प्रवर्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा बुधबार जम्मा १८ वटा हाते ट्रयाक्टर र ४ थान मकै छोडाउने मेसिन प्रदान गरिएको हो ।

कृषि सेवा केन्द्र भिमफेदीको संयोजन तथा भिमफेदी गाउँपालिकाको आयोजनामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष हिदम लामाको रोहोबरमा हाते ट्रयाक्टर तथा मकै छोडाउने मेसिन प्रदान गरिएको हो । करिब ८० हजार मूल्य पर्ने उक्त ट्रयाक्टर डिजल इन्धनबाट सञ्चालन हुन्छ ।

हाते ट्याक्टर हस्तातरण गर्दे अध्यक्ष लामाले ‘कृषिमा व्यवसायीकरण,व्यवसायमा यान्त्रिकरण’ गर्ने गाउँपालिकाले लक्ष्य लिएको बताउँदै गाउँपालिकाका सय भन्दा बढी टोलमा यसै वर्ष हाते ट्रयाक्टर पुराउने बताएका छन् । त्यस्तै गाउँपालिकाका प्रशासन प्रमुख जीवन कुंवरले हाते ट्रयाक्टर बहुआयामिक भएकोले त्यसबाट बढिभन्दा बढि उपयोग लिन कृषकहरुलाई आग्रह गरेका छन् । उनले हाते ट्रयाक्टर सरकारी अर्धस्वामित्व भएकोले यन्त्रको दुरुपयोग नगर्न आग्रह गर्दै गाउँपालिकाले त्यसको अनुगमन तथा आवश्यक कारवाही समेत गर्नेबारे सचेत पारे ।

गाउँपालिका अध्यक्ष लामाको अध्यक्षतामा भएको कार्यक्रममा भिमफेदी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष सिताराम थापाले कार्यक्रमको उदेश्यका बारेमा प्रकाश पारेका थिए । कार्यक्रमकालागि श्रेष्ठ एग्री इम्पोर्ट हेटौँडा शाखाका प्राबधिक संयोजक सञ्जु जोशीले यन्त्र संयोजन गरेका थिए । उनले वितरित ट्रयाक्टरको संञ्चालन र मर्मत संम्भारका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष प्रितलाल लामा, वडा नम्बर ५ का अध्यक्ष जहारसिंह लामा, वडा नम्बर ८ का अध्यक्ष जगतसिं घिसिङ, योजना प्रमुख बद्री सापकोटा, प्राविधिक जयराम चौँलागाई, विजचन्द्र झा, जनार्दन पौडेल लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*