इंग्ल्याण्ड विश्वकपको क्वार्टरफाइनलमा, कोलम्बिया पराजित
रसिया, २० असार । कोलम्बियालाई पेनाल्टी शुट आउटमा ४–३ गोलअन्तरले पराजित गर्दै इंग्ल्याण्ड विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डले विश्वकपमा सन् १९९० यता तेस्रो पटक नकआउट खेल जितेको हो ।
निर्धारित समयमा विवादास्पद पेनाल्टीमा ह्यारी केनले गोल गरेपछि इंग्ल्याण्डले १–० को अग्रता लिएको थियो । कोलम्बियाली डिफेण्डर कार्लोस सान्चेसले डिबक्सभित्र इंग्लिस कप्तान केनलाई फल गरेपछि इंग्ल्याण्डले खेलको ५७ औं मिनेटमा पेनाल्टीको अवसर पाएको थियो ।
यस्तै नियमित समयमा थपिएको ५ मिनेटको इन्ज्यूरी समयको तेस्रो मिनेटमा कोलम्बियाका जुहान कुआड्रार्डोको कर्नरमा स्टार डिफेण्डर यारी मिनाले गोल गरी खेलमा बराबरी गरेपछि खेल अतिरिक्त ३० मिनेटको समयमा पुगेको थियो ।
रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा भएको खेलमा निर्धारित र अतिरिक्त समयमा दुवै टोलीले एक एक गोलको बराबरी खेलेपछि नतिजा पेनाल्टी शुट आउटबाट निकालिएको हो । पेनाल्टीमा इंग्ल्याण्डका एक खेलाडी चुक्दा कोलम्बियाका दुई खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन् ।
कोलम्बियाका आन्द्रेस युरिवको पेनाल्टी क्रसबारमा लागेको थियो भने कार्लोस बाक्काको प्रहार इंग्लिस गोलकिपर जोर्डन पिकफोर्डले बचाएका थिए । यस्तै कोलम्बियाका कप्तान रामाडेल फाल्काओ, लुइस मुरियल र जुहान कार्डाडोले गोल गरे भने इंग्ल्याण्डका कप्तान ह्यारी केन, मार्कोस राशफोर्ड, केरन ट्रिपियर र इरिक डायरले गोल गरे ।
