प्रदेश ३ को बजेट तथा विनियोजन विधेयक बहमतले पारित
हेटौँडा, २० असार । प्रदेश नम्बर ३ सरकारको आगामी आर्थिक बर्ष २०७५–०७६ को विनियोजन विधेयक तथा बजेट बहुमतले पारित भएको छ । प्रदेशसभा भवन हेटौँडामा मंगलबार बसेको बैठकमा बजेट पारित गरिएको हो ।
प्रदेशसभा बैठकमा कांग्रेस प्रमुख सचेतक राधा घले, प्रदेशसभा सदस्य न्हुच्छेनारायण श्रेष्ठ, नेमकिपाका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई र सिर्जना शैज्युले राखेको खर्च कटौतिसम्बन्धी प्रस्ताव बहुमतले अस्विकृत भएको थियो भने कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम बैद्यले प्रस्ताव फिर्ता लिएका थिए ।
यसअघि विनियोजन विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्यहरुले राखेका प्रश्नहरुको जवाफ मुख्यमन्त्री डोरमणि पौडेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, भूमि व्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामा, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल र भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले दिएका थिए । प्रदेश ३ को सरकारले असार १ गते बजेट ल्याएको थियो । तर समयमै ‘रातो किताब’ उपलव्ध गराउन नसकेपछि १५ दिनपछि छलफल शुरु भएको थियो ।
