विद्युत अवरोध भएपछि झाडी फाँड्दै मनहरी गाँउपालिका अध्यक्ष उप्रेती

तु खबर संवाददाता
२०७५ असार १७, आईतवार ११:४४

मकवानपुर १७ असार । मनहरी गाउँपालिकाका विभिन्न वडाहरुमा विद्युत सेवा अबरोध पु¥याउने गरी बढेको झाडी तथा रुखका हाँगाहरु काटिएको छ ।
मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको अगुवाईमा मनहरी ८ रजैयादेखि मनहरी ९ ज्यामिरेसम्म झाडी सफाई गरिएको हो ।

अध्यक्ष उप्रेती आफै हँसिया लिएर युवाहरुलाई हौसला प्रदान गर्दै झाडी सफाइमा होमिएका थिए । उनलाई साथ दिँदै मनहरी गाउँपालिका वडा नं ८ का अध्यक्ष दिलबहादुर स्याङ्तान र वडा नं ९ का अध्यक्ष साधुराम अधिकारी पनि झाडी सफाईमा सक्रिय भएका थिए ।

गाउँपालिकाको आह्वानमा गरिएको झाडीसफाईका क्रममा विद्युतका तारहरु छुने गरी बढेका रुखका हाँगाहरु काटिएका थिए भने बिजुली तथा टेलिफोन तारलाई छोप्नेगरी बढेको झाडी सफाई गरिएको थियो । बर्षायाममा पानी पर्ने बित्तिकै करेन्ट सर्ट भई विद्युत अबरोध हुने भएकाले जनस्तरबाटै सफाई अभियान थालिएको मनहरी गाउँपालिका अध्यक्ष उप्रेतीले बताए ।
सफाई अभियानमा इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक बीरेन्द्र पनेरु, शसस्त्र प्रहरीको आइआरटी पोष्टका प्रमुख प्रहरी नायब निरीक्षक नारायण इटनीसहित प्रहरी टोली, विद्युत प्राधिकरण मनहरी फ्युज शाखाका कर्मचारीहरु, सामुदायिक वन उपभोक्ता महासंघ मनहरीका अध्यक्ष हेमलाल उप्रेती, युवा संघका प्रदेश कमिटी सदस्य नवीन सुवेदी, जिल्ला सचिव लक्ष्मण उप्रेती, गाउँ कमिटी संयोजक सगुन स्याङ्तान लगायत वडाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । आगामी दिनमा पनि जनस्तरबाटै विद्युत प्रबाहलाई सुचारु गर्नका लागि स्वयम्सेवी ढंगले काम गर्नका लागि युवाहरुलाई प्रेरित गरिने अध्यक्ष उप्रेतीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*