कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक थपलियाको निधन

तु खबर संवाददाता
२०७५ असार १६, शनिबार ०८:५४

काठमाडौँ १६ असार । साहित्यकार एवं पत्रकार यादव थपलियाको ४० वर्षका उमेरमा आज ‘भाइरल इन्फ्लुएञ्जा’ का कारण निधन भएको छ ।

‘कान्तिपुर’ दैनिक पत्रिकाका वरिष्ठ उपसम्पादक थपलियाको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा हिजो अपराह्न निधन भएको हो । ज्वरोका कारण बुधबार उपचारार्थ अस्पताल भर्ना भएका थपलियाको असामयिक निधन भएपछि परिवार, साहित्यकार, पत्रकार र उनका सहकर्मी स्तब्ध हुँदै अस्पताल र आर्यघाट पुगेका थिए । उनले यसअघि ‘नयाँ विकल्प’ साप्ताहिक, ‘जनपुकार’ साप्ताहिक, ‘खोजतलास’ सन्ध्याकालीन दैनिक, ‘स्पेशटाइम’ दैनिक, ‘नयाँ पत्रिका’ दैनिक र ‘नागरिक’ दैनिकमा सम्पादनको काम गरेका थिए ।

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–११, डाँडाथोकमा जन्मिनुभएका थपलिया नागार्जुन साहित्यिक प्रतिष्ठान, सिर्जना मझेरीलगायत संस्थाका संस्थापक सदस्य थिए । उनको २०६३ सालमा प्रतिष्ठानबाट ‘मृत्यु–चुम्बन’ उपन्यास प्रकाशन भएको थियो । उनको साहित्यिक ‘सम्मतिका छालभित्र’ समीक्षा कृति पनि प्रकाशित छ । उनले विभिन्न साहित्यिक पत्रिका र कृति सम्पादन गरेका थिए ।

प्रतिष्ठानका महासचिव माधव निर्दोषले शोक विज्ञप्ति जारी गरी थपलियाले मौलिक साहित्य र सिर्जनात्मक पत्रकारितामा दिएको योगदान अविस्मरणीय रहेको उल्लेख गरेका छन् । थपलियाको आजै पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*