हेटौँडामा मन्त्री र मेयरले यसरी रोपे धान, मकवानपुरमा धान दिवस मनाईदै
मकवानपुर, १५ असार । आज असार १५, राष्ट्रिय धान दिवस, मकवानपुरसहित देशभर मनाइँदै छ । नेपाली कृषकहरुकोे विशेष दिन राष्ट्रिय धान दिवसको अवसर पारेर विभिन्न स्थानमा कार्यक्रमहरुको आयोजना समेत गरिएको छ ।
यसै अवसरमा आज मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ सानोपोखरा, ढुङ्गेधारमा धान रोपाई गरिएको छ । ३ नम्बर प्रदेशका भुमी व्यबस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाको प्रमुख आतिथ्यतामा धान दिबसको मनाईएको हो । युवा संघ नेपाल र वाईसीएल नेपाल मकवानपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा नेकपा केन्द्रिय सदस्य रामेश्वर राना, प्रदेश ३ सांसद मुनु सिग्देल, हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा युवा संघ मकवानपुर तथा जिल्ला युवा समितिका अध्यक्ष सन्तोष चौँलागाईसहित मकवानपुरे संचारकर्मी तथा स्थानीयहरुले धान रोपेका थिए । धान दिवसका अवसरमा युवाहरुमाझ सन्देश छाड्दै युवा समितिका अध्यक्ष चौँलागाईले ‘राज्यले कृषिमा यथोचित लगानी गरोस्, वैज्ञानिक कृषि प्रणालीको विकास होस्, मल बिउको अभाव नहोस्,कृषिप्रधान देश भइकन पनि खाद्यान्नमा परनिर्भरता हटोस्’ भन्दै सबैलाई शुभकामना दिएका छन् ।

‘दुई बाली धान खेतीको विस्तार, आर्थिक समृद्धिको आधार’ भने नाराका साथ धान दिवस देशभर मनाइने कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले सुनसरी, कपिलवस्तु र काठमाडौंमा विशेष कार्यक्रम समेत गरेको छ ।

आजको दिन दही चिउरा खानु सँस्कृति नै बनेको छ । नेपालमा परापुर्वकालदेखि नै असार १५ मा असारे भाका गाउँदै हिलोमा रमाउँदै धान रोप्न चलन सुरु भएको हो । नेपाली संस्कृतिमा असार १५ लाई मानो रोपेर मुरी उब्जाउने’ दिनका रुपमा लिइन्छ ।

