हेटौँडा–१५ मा कुखुराको चल्ला वितरण
हेटौँडा, १४ असार । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ सयफुटमा बिपन्न वर्गका परिवारलाई कुखुराको चल्ला वितरण गरिएको छ । हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोग तथा जिल्ला पशु सेवा कार्यालय मकवानपुरको प्राविधिक सहयोगमा कुखुरा चल्ला वितरण गरिएको वडा नम्बर १५ का वडाअध्यक्ष महारत्न लामाले जानकारी दिए ।
सयफुटमा बसोबास गर्ने २० जनालाई २४ वटाका दरले ४८० भन्दा बढी कुखुरा चल्ला वितरण गरिएको वडाअध्यक्ष लामाले बताएका छन् । कुखुराको चल्ला वितरण पश्चात सहयोग प्राप्त गरेका वडावासीको आर्थिक अवस्थामा सुधार ल्याउन केही सहयोग पुग्ने विश्वास गरिएको वडाअध्यक्ष लामाको भनाइ छ ।

कार्यक्रममा वडाअध्यक्ष लामा सहित हेटौँडा उपमहानगरपालिकाका उपमेयर मीना लामा, सूचना अधिकारी शंकर उपाध्याय, जिल्ला पशुसेवा कार्यालय मकवानपुरका प्रमुख तथा वडासदस्यहरुको उपस्थिति रहेको थियो । वडा नम्बर १५ मा नै बुधबार आर्युवेद, खानपान र जीवनशैली विषयमा सचेना कार्यक्रम समेत गरिएको थियो ।
