आँखाको शल्यक्रिया गर्न अधिवक्ता बस्नेतले गरे हेटौँडामा सहयोग
हेटौँडा, १२ असार । हेटौँडा सामुदायिक आँखा अस्पतालमा उपचार गर्न आएका एक जनालाई हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा अवस्थित साझा ल फर्मका संचालक अधिवक्ता उत्तमकुमार बस्नेतले सहयोग गरेका छन् । अस्पतालमा मोतिविन्दुको शल्यक्रिया गर्न आएका हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ का चैते राईलाई उनले उपचार खर्च सहयोग गरेको अस्पताल प्रशासनले जनाएको छ ।
अधिवक्ता बस्नेतको बुवाको आँखाको शल्यक्रिया पश्चात बुवाले व्यक्त गरेको खुशीबाट आफू प्रभावित भएकोले अस्पतालमा विपन्न परिवारको आँखाको शल्यक्रियाको खर्चको लागि आफू तयार रहेको उनले बताए ।
बिरामी राईको परिवारको आर्थिक श्रोत कमजोर भएको अवस्थामा पनि उनी स्थानीय सहयोगीका साथ आँखा जाँच गराउन अस्पताल पुगेका थिए । उपचारका क्रममा उनको आँखामा मोतिविन्दुको शल्यक्रिया गर्नु पर्ने देखिएपछि अस्पतालले अधिवक्ता बस्नतेलाई सम्पर्क गरेको थियो ।
