राहत शिक्षक समिति मकवानपुरको अध्यक्षमा पौड्याल
मकवानपुर ९ असार । नेपाल राहत शिक्षक समिति मकवानपुरको अध्यक्षमा हरिप्रसाद पौड्याल निर्विरोध चयन भएका छन् । शनिबार भएको पाँचौं जिल्ला अधिवेशनले पौड्यालको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
जसको बरिष्ठ उपाध्यक्षमा राधा सिन्तान, उपाध्यक्षमा सोमप्रसाद आचार्य र रत्नबहादुर स्याङ्तान चयन भएका छन् । त्यसैगरी सचिवमा विशाल अधिकारी, सहसचिव जीवन तिमल्सिना, कोषाध्यक्ष सुमित्रा अर्याल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा हरेराम थापा, उमेश थिङ, अरबिन्द पटेल, हेमबहादुर विक, रामशरण दाहाल र चमेली लामा रहेका छन् । समितिका उपाध्यक्ष राधा सिन्तानको अध्यक्षतामा भएको अधिवेशनमा नेपाल राहत शिक्षक केन्द्रीय समितिका कार्यबाहक अध्यक्ष खेमराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल राहत शिक्षक समिति ३ नम्बर प्रदेश अध्यक्ष बासु अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष श्रीराम दाहाल, एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुरका उपाध्यक्ष खेमराज लामिछाने, नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारी, नेपाल शिक्षक मञ्चका अध्यक्ष विनोद गुप्ता, अस्थायी शिक्षक संघर्ष समिति मकवानपुरका सचिव सुनिल गौतम, नेपाल राहत शिक्षक समिति मकवानपुरका पूर्वअध्यक्ष एवम् हेटौंडा क्याम्पसका सहायक प्रमुख देवीराम लामालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा समितिका सचिव हरि पौड्यालले मकवानपुरमा राहत शिक्षकको इतिहास, वर्तमान अवस्था र भावी योजनाको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खेमराज अधिकारीले देशभरका राहत शिक्षक आफ्नो अधिकार प्राप्तीको लागि एकजुट हुनुपर्ने र राज्यको विभेदकारी नीतिप्रति विरोध जनाउँदै सशक्त आन्दोलनको तयारीको आवश्यकता रहेको औंल्याए ।
असार २९–३० गते पोखरामा हुने केन्द्रीय महाधिवेशनलाई भव्यरुपमा सफल पार्न जिल्ला तहबाट आवश्यक सहयोगको अपेक्षा समेत व्यक्त गरे ।
