मकवानपुरको कैलाश गाउँपालिकाका कर्मचारीहरु यसरी खान्छन् घूस, कर्मचारीले टेढपुच्छर लाउँदैनन् : उपाध्यक्ष थिङ
बलराम पुडासैनी
मकवानपुर ९ असार । स्थानीय निकायबाट सहज रुपमा आफ्ना कामहरु गर्न पाइएला भनेर मख्ख परेका मकवानपुर कैलाश गाउँपालिकाका सर्वसाधारण गाउँपालिकाका कर्मचारीहरुको व्यवहारका कारण आजभोली दिग्दार भएका छन् ।
त्यसैगरी गाउँपालिकाका विभिन्न उपभोक्ता समितिका मानिसहरु पनि सरकारी कर्मचारीको घुसपैठको हर्कतले आफुहरु निरास भनेको गुनासो गर्छन् । कर्मचारीहरुले टाठाबाठा मानिसहरुको काम १ दिनमै गरीदिने तर सोझा सर्वसाधारणको काम भने बिना कारण लम्ब्याउने गरेको स्थानीयहरुको गुनासो छ ।
विकासको विभिन्न कामहरुको चेक पास गर्न सिधै १५ प्रतिशत तथा २० प्रतिशत कमिशन माग्ने तर पैशा दिन्न भनेपछि कर्मचारीहरुले कामनै नगर्ने प्रवृती गाउँपालिकामा रहेको छ । काम लिएर गयो सिधै रकम माग्छन् । दिएन भने सानो सानो गल्ती औँल्याएर कैले हेटौंडा जानुस भन्ने त कहिले ५ दिन पछि आउनुस भन्दै झुलाईदिन्छन् , मैले मेरो कामको लागि केहि प्रतिशत पैशा दिन्छु भनेपछि मात्र काम गरीदिने ग्यारेन्टी भो नाम नबताउने सर्तमा एक सर्वसाधारणले तु खबरलाई गुनासो गरे ।
कैलाश गाउँपालिका वडा नम्बर ६ वीरता थापा टोल बाँसघारी मजुवा सडक खण्ड उपभोक्ता समितिका बलबहादुर मोक्तानसंग कामकै शिलशिलामा ७ हजार रुपैयाँ घूस गाउँपालिकाका कर्मचारीहरुले लिएको समाजसेवी बच्चु ढुङ्गानाले तु खबरलाई जानकारी दिए । त्यसो त गाउँपालिकामा बाटोको राम्रो सुविधा छैन । खान बस्न राम्रो व्यवस्था पनि छैन । त्यसमाथी पनि हेटौंडा गएर ३ दिन बस्दा त थुप्रै खर्च हुन्छ धान्नै मुस्कील भो गोगनेका तिलक आले मगरले तु खबरलाई गुनासो गरे ।
कर्मचारीहरु जनताले भनेको मात्र हैन गाउँपालिकाकै जनप्रतिनिधिले भनेको पनि मान्न तयार हुँदैनन् उपाध्यक्ष सुकुमाया थिङले आरोप लगाईन् । “जति घुस नखानको लागि कर्मचारीहरुलाई खबरदारी गर्दा पनि मेरो केहि लागेन” उपाध्यक्ष सुकुमायाँ थिङले बताईन् । “गाँउलेले केहि बोल्दैनन् तपाइलाई के मर्का पर्यो भनेर सोध्दा केहि पनि भन्दैनन् ” उनले भनिन् ।
यस्तै अर्का पिडित शिक्षक राम एकवाल यादब भन्छन् “ स्कुलको कुनैपनि काममा घुस नदिकन कामनै हुन सकेन ” । अर्का स्थानीय बलराम बल पनि यस्तै गुनासो गर्छन् । गाँउपालिकाका सम्पुर्ण तहका कर्मचारीहरु मिलेर घुस खाएको स्थानीयहरुको गुनासो छ । यस विषयमा तु खबरले कैलाश गाउँपालिकाका अध्यक्ष टँक मोक्तानलाई यसरी गाउँपालिकाका कर्मचारीहरुले मिलेर घुस खाईरहँदा तपाई के हेरेर बस्नु भएको भन्ने प्रश्न गर्दा उनले आफुलाई कर्मचारीले घुस खाएको त्यति थाहा नभएको बताए । उनले आफुले बुझेर यदि त्यस्तो भएको रहेछ भने आवश्यक कारवाहि गर्ने बताए ।
