नवोदय शिशु सदन हेटौंडामा आज टेबुल टेनिस प्रतियोगिता हुने
मकवानपुर ७ असार । हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन बोर्डिङ स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत आज विहीबारबाट एकल टेबुल टेनिस प्रतियोगिता हुने भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी तीनदिनसम्म विद्यालयमै सञ्चालन हुने प्रतियोगितामा सामूदायिक तथा नीजि विद्यालयका मावि तथा आधारभूत गरी दुई तहमा प्रतियोगिता गराईने विद्यालयले जनाएको छ ।
११ नीजि तथा ३ सामूदायिक विद्यालय गरी १४ विद्यालयको सहभागिता रहने प्रतियोगितामा माध्यमिक तहमा ३० जना र आधारभूत तहमा २१ खेलाडीले सहभागिता जनाउने कार्यक्रम संयोजक तथा विद्यालय निर्देशक दिपेश जोशीले बताए । ‘स्वस्थ जीवन’ भन्ने मूल नाराका साथ खेलकुदलाई विद्यालय तहबाट विकास गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए ।
‘हरेक वर्ष टेबुल टेनिस प्रतियोगिता आयोजना गर्ने छाँै । ’ उनले भने –‘यस पटक नगरका विद्यालयमा अध्ययनरत पुरुषलाई मात्र समेटिएका छौँ । आगामी दिनमा मकवानपुरको छिमेकी जिल्लाका विद्यालयलाई समेटि लेडिज डबल प्रतियोगिता आयोजना गर्ने छौँ ।’
विद्यालयले आगामी दिनमा भानुजयन्ती दिवसको अवसरमा कविता महोत्सव, असोज महिनामा जिल्ला व्यापी डान्स प्रतियोगिता र मंसिर महिनाको अन्तिम साता एथ्लेटिक्स प्रतियोगिता आयोजना गर्ने उनले बताए ।
प्रतियोगिताको माध्यमिक तहमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश ८ हजार, ५ हजार र ३ हजार रुपैयाँ र आधारभूत तहमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित शिल्ड, मेडल, टिटिव्याट र प्रमाणपत्र प्रदान गरीने छ ।
