हेटौँडा आएर देउवाले भने–‘ आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउँछु’

तु खबर संवाददाता
२०७५ असार ५, मंगलवार १८:२५
file-photo

मकवानपुर, ०५ असार । नेपाली काँग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउने उद्घोष गरेका छन् । आज मकवानपुरको हेटौँडामा नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउने प्रण गरेका हुन् ।

‘हाम्रो पराजय र कम्युनिष्ट पार्टीहरुको एकिकरणले चुनौति थपिएको छ, तर म विचलित भएको छैन ।’ उनले भने, ‘मैले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी स्थापित गर्ने प्रण गरेको छु । यसका लागि सबै साथीहरुलाई एकजुट भई सहयोग गर्न म आव्हान गर्दछु ।’

उनले २०६४ सालमा सम्पन्न पहिलो संविधान सभाको निर्वाचनमा काँग्रेस पराजित भएर कम्युनिष्ट पार्टीहरु ठूलो संख्यामा संविधान सभामा पुगे पनि कम्युनिष्ट पार्टीका चार जना प्रधानमंत्री भएका समयमा समेत दुई वर्षमा बनाउने संविधान चार वर्ष सम्मपनि नबनी संविधान सभा असफल भएको बताएका छन् । पछिल्लो निर्वाचनमा काँग्रेसको हारको कारण बारे केन्द्रीय कार्य समितिमा गम्भीर र सुक्ष्म रुपले छलफल भएको बताउँदै उनले दुई वटा ठूला कम्यूनिष्ट पार्टीहरुको चुनावी गठबन्धन हारको प्रमुख कारण देखिएको बताए । नेपाली कांग्रेसले पहिलेका निर्वाचनहरुमा प्राप्त गरेको मत प्रतिशत यथावतनै रहेको र लोकप्रिय जनमत कांग्रेसको पक्षमानै रहेको देखिएको समेत उनले दाबी गरे । साथै ठाउँ ठाउँमा अन्तरघात भएका गुनासाहरु समेत व्यापक भएको बताउँदै अन्तरघात समेतका कुरा पनि पार्टी पराजयको कारण भएको बताए । पार्टी भित्र नै केहि असतुष्टि अभिव्यक्त हुने गरेको र कतिपय कुरा अतिरंजित र अशोभनिय ढंगले पनि उठ्ने गरेको बताए ।

‘ कम्युनिष्ट लोकतन्त्रवादी हुन सक्दछन् भन्ने भ्रम बाघ साकाहारी हुन्छ भन्ने जत्तिकै हो’
सभापति देउवाले बैठकलाई सम्बोधन गर्दै अहिले मुलुक थप संकटमा परेको बताउँदै कम्युनिष्टको हातमा लोकतन्त्र कदापी सुरक्षित हुन नसक्ने बताए ।

‘कम्युनिष्ट लोकतन्त्रवादी हुन सक्दछन् भन्ने भ्रम बाघ साकाहारी हुन्छ भन्ने जत्तिकै हो,’ उनले भने, ‘सरकार सर्वसत्तावादी चरित्रतर्फ उन्मुख छ । गणतन्त्र, लोकतन्त्र र संघीयता जोखिममा परेका छन् । मूल्य बृद्धिले जनता आक्रान्त छन् ।’

सरकारको व्यवहार भाषणमा संघीयता र काममा कम्युनिष्टको जनवादी केन्द्रीयता तर्फ उन्मुख भएको बताउँदै के.पी ओलीको राष्ट्रवाद लम्पसारवादमा परिवर्तन भएको आरोप लगाए । यस अवस्थामा संविधानको संरक्षण गर्ने, देशलाई कम्युनिष्टको अधिनायकवादवाट जोगाउने जिम्मेवारी समेत काँग्रेसको भएको उनले बताए ।

‘यो संविधानको संरक्षण गरी देशलाई शान्ति र प्रगतिको वाटोमा लैजाने हाम्रो लक्ष्य हो,’ उनले भने, ‘काँग्रेसले सबै ठाउँमा जिम्मेवार तथा प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्नु पर्छ । एकताबद्ध, संगठित र व्यवस्थित कांग्रेसलेनै यी जिम्मेवारी बहन गर्न सक्दछ । यस बारेमा म स्वयं गम्भीर छु र सबै नेता साथीहरुलाई गम्भीर हुन आग्रह गर्दछु ।’
नेपाली काँग्रेस केन्द्रीय समितिको आयोजनामा तथा नेपाली काँग्रेस मकवानपुरको व्यवस्थापनमा कार्यक्रम भएको हो ।


हेर्नुहोस् देउवाको पुरा वक्तव्य–

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्टिय भेलामा केन्द्रीय सभापतिको उद्घाटन मन्तव्य
(२०७५ असार ५ गते मकवानपुरको हेटौडा)

बरिष्ठ नेता रामचन्द्रजी, केन्द्रीय समितिका पदाधिकारी एवं सदस्य साथीहरु, सबै जिल्लाका सभापतिजीहरु, संघीय संसद र प्रदेश सभाका माननियजीहरु, पार्टीका साथीहरु, पत्रकार मित्रहरु र दिदि बहिनी दाजू भाईहरुः

आज मकवानपुरको हेटौडामा नेपाली कांग्रेस केन्द्रीय समितिको आयोजनामा नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको महत्वपूर्ण कार्यक्रम भईरहेको छ । म सबै भन्दा पहिले यो कार्यक्रमको व्यवस्थापन गर्ने नेपाली काग्रेस मकवानपुर जिल्ला कार्य समितिका सभापति एवं नेपाली काग्रेस प्रदेश सभा संसदिय दलका नेता ईन्द्र बाँनियाजी लगायत नेपाली कांग्रेस मकवानपुरका सबै साथीहरुलाई धन्यवाद दिन चाहन्छु । यो कार्यक्रमको पूर्र्ण सफलातको हार्दिक शुुभ कामना व्यक्त गर्दछु ।

आदरणीय साथीहरु, नेपाली कांग्रेसले जनताका लोकतान्त्रिक हक अधिकारकालागि आफ्नो जन्मसंगै प्रारम्भ गरेको सात दशक लामो अबिरल संर्घष र बलीदानपूर्ण यात्रा र उपलब्धिहरुको महान गाथा ईतिहासमा अंकित छ । राष्ट्रको जिवनमा यस्तो ऐतिहासिक भूमिका निर्वाह गर्ने कालजयी बिचार र पार्टीका निर्माणकर्ता महामानव बी.पी. कोईराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई लगायत सबै नेताहरुलाई श्रद्धापूर्वक स्मरण गर्दै हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु ।

हाम्रा यीनै महान नेताहरुको मार्ग दर्शन, प्रेरणा र नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारीको निरन्तरता स्वरुप कांग्रेसले पछिल्लो बाह्र वर्षमा निर्वाह गरेको भूमिका र प्राप्त उपलब्धिहरु पनि सबै लोकतन्त्रवादीका लागि गर्व गर्न लायक छन । देशले अन्यौल र अनिश्चितताको एक लामो संक्रमणकाल पार गरेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भए पश्चात संघीय संसद, प्रदेश सभा र स्थानिय तहको निर्वाचन सम्पन्न भएपछि संविधानको पूर्र्ण रुपले कार्यान्वयन भएको छ । एक दशक भन्दा लामो अस्थिर र अत्यन्त जटिल संक्रमणकालिन अवस्थावाट देशलाई डोर्याउदै शान्ति र लोकतन्त्रको राजमार्ग सम्म पुर्याउने कार्यमा नेपाली कांग्रेसले निर्वाह गरेको नेतृत्वदायी भूमिका म स्मरण गर्न चाहन्छु । तत्कालिन माओवादीले हतियार उठाई हजारौ नेपालीले ज्यान गुमाएको अवस्थामा राजाले लोकतन्त्र हरण गरि मुलुकलाई थप उग्र मुडभेडको अवस्थामा पुर्यायो । त्यो त्रासदीपूर्र्ण कालखण्डमा नेपाली कांग्रेसले दुई थरी बन्दुकको बिचमा उभिएर मुलुकलाई शान्ति र लोकतान्त्रिक बाटोमा फर्काउन दोस्रो जनआन्दोलन र शान्ति प्रकृयाको सफल नेतृत्व गर्यो । फलस्वरुप देश हत्या, हिसां र आतंकको त्रासवाट मुक्त भयो ।

यसकालागि म तत्कालिन पार्टी सभापति स्व. गिरिजा प्रसाद कोईरालाको श्रद्धापूर्वक उच्च सम्मान गर्न चाहन्छु । दोस्रो जनआन्दोलन, शान्ति प्रकृया र अन्तरिम संविधान निर्माणमा सफल नेतृत्व गरेको कांग्रेस २०६४ सालमा सम्पन्न पहिलो संविधान सभाको निर्वाचनमा पराजित हुन पुग्यो । कम्युनिष्ट पार्टीहरु ठूलो संख्यामा संविधान सभामा पुगे कम्युनिष्ट पार्टीका चार जना प्रधानमंत्री भए तर दुई वर्षमा बनाउने संविधान चार वर्ष सम्मपनि नबनी संविधान सभा असफल भयो ।

२०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा पुनः कांग्रेस ठूलो दलका रुपमा संविधान सभामा पुग्यो । कांग्रेसको नेतृत्वमा सरकार र कांग्रेसकै नेतृत्वमा संविधान निर्माणको प्रकृया शुरु भयो फलस्वरुप जनतालाई बाचा गरेको समयसिमा भित्र २०७२ सालमा देशले संविधान प्राप्त ग¥यो । यसकालागि तत्कालिन पार्टी सभापति स्व. शुशिल कोईरालाले गर्नु भएको योगदानको उच्च प्रसंसा गर्दै म ह्ृदय देखि सम्मान व्यक्त गर्न चाहन्छु ।

संविधान जारी हुदा देशमा जटिल अवस्था थियो । संविधानको कार्यान्वयन सर्वाधिक चुनौतिको विषय थियो । तत्कालिन नेकपा (एमाले) को नेतत्वमा तत्कालिन नेकपा (माओवादी केन्द्र) सम्मिलित सरकार गठन भयो तर संविधान कार्यान्वयनको दिशामा एक कदमपनि अगाडी बढ्न सकेन । हामीले संविधानको कार्यान्वयनलाई मुल राष्ट्रिय एजेण्डा बनाएर माओवादीसंगको सहकार्यमा सरकार गठन गर्यौ ।

माआवादी नेता पुष्प कमल दाहाल प्रचण्डको नेतृत्वको सरकारले स्थानिय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गर्यो जुन संविधान कार्यान्वयनको प्रारम्भीक चरण र आंशिक कार्य मात्र थियो । तत्पशचात मेरो नेतृत्वमा सरकार गठन भयो । म सरकारको नेतृत्वमा आउदै गर्दा स्थिति जटिल थियो । प्रदेश २ मा आन्दोलनजारी थियो । देश भरि सबै तहका निर्वाचन शान्तिपूर्ण रुपले सम्पन्न गरि संविधानको कार्यान्वयन गर्न चुनौतिपूर्ण अवस्था थियो । निर्वाचन सम्पन्न हुने विषयमा सर्वत्र अन्यौल र आशंका थियो । वर्तमान प्रधानमंत्री केपी ओलीजीले निर्वाचन कुनै हालतमा हुन नसक्ने भनि पटक पटक सार्वजनिक अभिव्यक्ति दिएको म अहिले पनि सम्झी रहेको छु ।

तत्काल निर्वाचन नभएको भए वर्तमान संविधान असफल हुने र हामीले प्राप्त गरेका सबै उपलब्धि गुम्ने मात्र होईन मुलुक फेरी एक पटक अनुमाननै गर्न नसक्ने भयावह अवस्थामा पुग्न सक्ने खतरालाई मैले अनुभूती गरेको थिए । तसर्थ निर्वाचन सम्पन्न गरि संविधान कार्यान्वयन गर्न आवश्यक थियो ।

देश भरि शान्तिपूर्र्ण तवरले सबै तहका निर्वाचन सम्पन्न भई संविधानको पूर्ण कार्यान्वयन भयो । लोकतन्त्र र शान्तिमा विश्वास गर्ने सबैको विजय भयो । यसमा मलाई खुशी लागेको छ । यस कार्यमा मलाई सहयोग गर्नु हुने पार्टीका सबै नेता कार्यकर्ता र आम नेपाली जनताका प्रति म आभारी छु ।

नेपाली कांग्रेसले राष्ट्रका सर्वाधिक महत्वपूर्र्ण एजेण्डा सम्बोधन गरेको अवस्थामा पनि हामी निर्वाचन हारेको तितो यथार्थ हाम्रा सामु छ । दोस्रो जन आन्दोलन, शान्ति प्रकृया र अन्तरिम संविधानको सफल प्रयोग लगत्तै पहिलोे संविधान सभाको निर्वाचनमा हार ब्यहोर्नु पर्यो । त्यसै गरि संविधानको निर्माण र सफल कार्यान्वयन पछिको निर्वाचनमा पनि हामी पराजित भयौ ।

पछिल्लो निर्वाचनमा हाम्रो हारको कारण बारे केन्द्रीय कार्य समितिमा गम्भीर र सुक्ष्म रुपले छलफल भएको छ । दुईटा ठूला कम्यूनिष्ट पार्टीहरुको चुनावी गठबन्धन हारको प्रमुख कारण देखिएको छ । नेपाली कांग्रेसले पहिलेका निर्वाचनहरुमा प्राप्त गरेको मत प्रतिशत यथावतनै रहेको र लोकप्रिय जनमत कांग्रेसको पक्षमानै रहेको देखिन्छ ।

एमाले र माओवादीको गठबन्धनको सम्भावनालाईपनि अनुमान नगरिएको होईन र स्थानिय तहको पहिलो चरणको निर्वाचनमा केहि स्थानमा माओवादीलाई सहयोग गर्ने नीति लिदा पार्टी भित्र र बाहिरवाट उत्पन्न केहि जटिलता समेत देखा परेकानै हुन । ठाउ ठाउमा अन्तरघात भएका गुनासा व्यापक छन । अन्तरघात समेतका कुरा पनि पार्टी पराजयको कारण हुन । यस विषयलाई पनि गम्भीरतापूर्वक हेर्न जरुरी छ ।

हामीले एउटा लडाई हारेका छौ । मैदान हारेका छौनौ । यो संविधानका आधारभूत तत्व वा मूल विशेषताहरु नेपाली काग्रेसका आदर्शवाट निर्देशित छन । र यो संविधानको सफल कार्यान्वयनपनि हामीलेनै गरेका छौ । यस अर्थमा हाम्रो बिचार जितेको छ । तसर्थ म साथीहरुलाई कमजोर मानसिकता होईन उच्च मनोबलका साथी अगडी बढ्न आव्हान गर्दछु ।

पार्टी भित्र साथीहरुवाट केहि असतुष्टि अभिव्यक्त हुने गरेका छन । कतिपय कुराहरुलाई मैले स्वभाविक रुपमा लिएको छु भने कतिपय कुरा अतिरंजित र अशोभनिय ढंगले पनि उठ्ने गरेका छन । पछिल्लो समयमा संविधानको निर्माण र कार्यान्वयन प्राथमिकताका विषय भएको हुदा मेरो र पार्टीको सम्पूर्ण ध्यान र उर्जा त्यस तर्फ केन्द्रीत भयो ।

तसर्थ केहि काम गर्न ढिलाई भएपनि महत्वपूर्ण काम अगाडी बढेका छन । नेपाली कांग्रेसले ठूला ठूला ऐतिहासिक उपलब्धि प्राप्त गर्ने र साना साना आग्रह पूर्वाग्रह राखि जानी नजानी आफैले प्राप्त गरेका उपलब्धि अवमूल्यन हुने गरि हामी प्रस्तुत हुने कार्य गरि रहेका त छैनौ ? यसमा सबैको ध्यान जान जरुरी छ । मेरा लागि राष्ट्र, लोकतन्त्र र काग्रेस भन्दा प्रिय बस्तु अरु केहि छैनन । बाल्यकाल देखि अहिले सम्म मेरो जिवन यसैमा समर्पीत छ र बाँकि जिवनपनि यसै उदेश्यकालागि समर्पित रहने छ ।

अहिले मुलुक थप संकटमा परेको छ । कम्युनिष्टको हातमा लोकतन्त्र कदापी सुरक्षित हुन सक्दैन । कम्युनिष्ट लोकतन्त्रवादी हुन सक्दछन भन्ने भ्रम बाघ साकाहारी हुन्छ भन्ने जत्तिकै हो । सरकार सर्वसत्तावादी चरित्र तर्फ उन्मुख छ । गणतन्त्र, लोकतन्त्र र संघीयता जोखिममा परेका छन । मूल्य बृद्धिले जनता आक्रान्त छन ।
सरकारको व्यवहार भाषणमा संघीयता र काममा कम्युनिष्टको जनवादी केन्द्रीयता तर्फ उन्मुख छ । के.पी ओलीको राष्ट्रवाद लम्पसारवादमा परिवर्तन भएको छ । यस अवस्थामा संविधानको संरक्षण गर्ने, देशलाई कम्युनिष्टको अधिनायकवादवाट जोगाउने जिम्मेवारीपनि हाम्रो काधमा आएको छ ।

यो संविधानको संरक्षण गरी देशलाई शान्ति र प्रगतिको वाटोमा लैजाने हाम्रो लक्ष्य हो । कांग्रेसले सबै ठाउमा जिम्मेवार तथा प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्नु पर्छ । एकताबद्ध, संगठित र व्यवस्थित कांग्रेसलेनै यी जिम्मेवारी बहन गर्न सक्दछ । यस बारेमा म स्वयं गम्भीर छु र सबै नेता साथीहरुलाई गम्भीर हुन आग्रह गर्दछु ।
संविधानले राज्यको शासकिय प्रबन्धमा परिवर्तन गरेको छ । संघीयताका आधारमा नयां संरचनाहरु बनेका छन । त्यस अनुरुप पार्टीका संरचना तयार गर्नु पर्ने छ । पार्टीको बिधानमा अन्य समसामयीक परिवर्तन गर्न आावश्यक छ । पार्टी विधान संशोधनको विषयपनि यस भेलाको एजेण्डको रुपमा रहेको छ ।

यसकालागि चाडै विधान संशोधन समिति गठन गरि विधान संशोधन गरिने छ । पार्टीको विभागहरु गठन गर्ने, महा समितिको बैठकवाट विधान संशोधन गर्ने काम चाडै गरिने छ ।
हाम्रो पराजय र कम्युनिष्ट पार्टीहरुको एकिकरणले चुनौति थपिएको छ । तर म विचलित भएको छैन । मैले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी स्थापित गर्ने प्रण गरेको छु । यसका लागि सबै साथीहरुलाई एकजुट भई सहयोग गर्न म आव्हान गर्दछु ।

अन्तमा पार्टीका जिल्ला सभापति साथीहरु भेलामा प्रस्तुत एजेण्डामा गम्भीर रुपले छलफल गर्नु हुनेछ । यो भेलाले नेपाली काग्रेसलाई उर्जा प्रदान गर्नेछ भन्ने विश्वासका साथ सबैलाई पुनः धन्यवाद दिन चाहन्छु ।

जय नेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*