संघीयताको बिरोध गर्नेविरुद्ध संसदमा जंगिए सांसद पुलामी
हेटौँडा, ०३ असार । प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामीले संघीयताको विरोध गर्नेहरुबिरुद्ध कडा टिप्पणी दिएका छन् । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकका बोल्दै उनले संघीयताले ल्याएको प्रदेशसभामा बसेर संघीयताको बिरोध गर्ने छुट कसैलाई नभएको बताएका हुन् ।
प्रदेश तीनका आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेलले आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेको बजेटमाथि आईतबार प्रदेशसभामा बोल्दै पुलामीले जनयुद्ध र जनआन्दोलनको बलमा आएको संघीयतालाई बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिए । उनले मकवानपुरको पूर्वी बकैया गाउँपालिकास्थित धियाँलमा रहेको युरोनियम खानीको अनुसन्धान,संरक्षण र पहिचान गरिनुपर्ने बताए । साथै चुरे प्रभावित क्षेत्रमा रहेको बस्तीहरुको संरक्षणको लागि बलियो तटबन्धन गर्न बजेट छुट्याउन माग समेत गरे ।
गाउँ गाउँमा जटिबुटी उत्पादनमा जोड दिनुपर्ने भन्दै सभासद पुलामीले जटिबुटी प्रबद्र्धन र प्रसोधनको लागि आधुनिक उपकरणहरु भित्र्याईनुपर्ने बताए । साथै उनले स्वर्गीय साहित्यकार श्याम प्रसाद शर्माको स्मृतिमा गठित श्याम प्रसाद स्मृति प्रतिष्ठानलाई बजेट छुट्याउन समेत माग गरे ।
