वडा नम्बर १२ को हात्तिगौँडामा योजना तर्जुमा भेला, प्राविधिक शिक्षा र सडक निर्माणमा जोड
–चन्द्र घलान
हेटौँडा, ०२ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को योजना तर्जुमा भेला सम्पन्न भएको छ । भेलामा वडा नम्बर १२ भित्रका विभिन्न संघसंस्था, टोल विकास संस्था, शिक्षा, स्वास्थ्य, यातायात तथा खानेपानी , राजनीति लगायतका क्षेत्रमा कार्यरत सरोकारवालाहरुसँग योजना माग तथा छलफल गरिएको थियो ।
भेलामा भौतिक पूर्वाधार विकासतर्फ स्थानीयको माग धेरै भएको वडा अध्यक्ष ललित घलानले जानकारी दिए । त्यस्तै प्राविधिक तथा कम्प्यूटर शिक्षामा जोड दिइएको घलानले बताए । भेलामा सहभागी सरोकारवाला निकायहरुले स्वास्थ्य चौकीको उचित व्यवस्था, विद्यालयको भौतिक अवस्था सुधार, खेलकुदतर्फ खेलमैदानको विकास, खानेपानी योजनाको माग लगायतका विषयहरु अघि सारिएको वडा अध्यक्ष घलानको भनाई छ । भेलामा सहभागीहरुले भौतिक विकास तर्फ सडक निर्माण, विद्यूतिकरण तथा खानेपानीको योजना माग जस्ता विषयमा बढी चासो देखाएका छन् ।

वडा नम्बर १२ को श्री बुद्ध मावि पान्तले हात्तिगौँडामा भएको भेलामा उपमहानगरपालिकाले दिएको सिलिङका आधारमा योजना माग गरिएता पनि भेलामा सहभागीहरुले उपमहानगरपालिकाको सिलिङमा योजना कम भएको गुनासो गरेका थिए । आवश्यकता बढी तर योजना कम भएको भन्ने गुनासो बढेको वडाअध्यक्ष घलानले जानकारी दिएका छन् । वडाको योजना तर्जुमा भेलामा भौतिक विकास र शिक्षातर्फ समेत विद्यालयको भौतिक विकासमा जोड दिएता पनि शैक्षिक गुणस्तर कायम गर्ने सम्बन्धमा भने कमै माग आएकोमा दुःख लागेको वडा अध्यक्ष घलानले बताए । त्यस्तै संचार क्षेत्रको विकासको लागि आवाज उठाउनेहरुको कमि भएको समेत उनको भनाई छ ।

सरोकारवालाहरुसँग विभिन्न योजनाहरु माग गर्दा छुटेका योजनाहरु समेतलाई ध्यानमा राखेर योजना निर्माण गरिने वडाअध्यक्ष घलानले प्रतिबद्धत्ता जाहेर गरेका छन् । त्यस्तै वडामा युवाहरुलाई लागुपदार्थ दुव्र्यसनीमा फस्न नदिन तथा शिक्षित समुदाय बनाउने क्षेत्रमा समेत आफुले जोड दिने उनको भनाई छ । हेटौँडा उपमहानगरपालिकामा पछि जोडिएका साविक गाविसहरुलाई बढि प्राथमिकता दिने बारेमा चर्चा चल्ने गरेको भएता पनि साविक ११ वडाकै हाराहारीमा बजेट बिनियोजन भएका कारण नगरसँग पछि जोडिएका साविक गाविसलाई निकै समस्या परेको र विकासको क्रममा पछि परेको समेत वडा अध्यक्ष घलानले गुनासो गरेका छन् ।

