बारामा प्रथम मेयर कपको फाईनल भिडन्त आज, वडा नम्बर १ र २ भिड्दै

तु खबर संवाददाता
२०७५ असार २, शनिबार १०:२७

अनिल प्रित,
बारा, ०२ असार ।
बाराको सिमरामा जारी जीतपुरसिमरा उपमहानगरपालिका स्तरीय प्रथम मेयर कप फुटबलको उपाधिका लागि आज वडा नम्बर १ र वडा नम्बर २ भिड्ने भएका छन् ।

यस अघि सिमरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाईनल खेलमा जीत हात पार्दै वडा नं. २ ले वडा नं. १ संगको उपाधि भिडन्त पक्का गरेको थियो । त्यस्तै वडा नम्बर १२ लाई पराजित गर्दै वडा नं. १ यसअघि नै प्रतियोगिताको अन्तिम दुईमा प्रवेश गरिसकेको छ । दोस्रो सेमिफाईनल खेलमा वडा नं. २ ले वडा नं. ५ लाई टाईब्रेकरमा ४–२ ले पराजित गरेको थियो । निर्धारित समयमा दुबै टिमले १–१ को बराबरी खेलेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो ।

प्रतियोगिताकै बलियो टोली मानिएको वडा नं. ५ लाई टाईब्रेकरमा पराजित गर्ने क्रममा वडा नं. २ का लागि सुशान्त लामा, प्रकाश श्रेष्ठ, अभय लामा र उमेश श्रेष्ठले गोल गरे । वडा नं. ५ का लागि श्रीराम चौधरी र कृपा चौधरीको प्रहारले मात्र जाली चुम्यो । वडा नं. ५ का अस्मित चौधरीको प्रहार पोष्टमा ठोक्किदा रामएकवाल चौधरीको प्रहार बाहिरिएको थियो । यसअघि निर्धारित ७० मिनेटको खेलमा वडा नं. २ ले अग्रता लिएको थियो । खेलको १७ औं मिनेटमा बिवश गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । बलियो टोली वडा नं. ५ विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको वडा नं. २ ले केही अवसर गुमाउन पुग्दा जीतका लागि टाईब्रेकरसम्म संघर्ष गर्नुप¥यो ।

प्रतियोगिता अवधीभर उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाईनल प्रवेश गरेको वडा नं. ५ दवावमा देखियो । पहिलो हाफमा खासै अवसर सिर्जना गर्न नसकेको वडा नं. ५ ले दोस्रो हाफमा आक्रामक प्रदर्शन गर्दै केही अवसर बनाएपनि फिनिसिङमा चुक्न पुगेको थियो । अन्तिम समयसम्म संघर्ष गरेको वडा नं. ५ ले ईन्जुरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । निर्धारित समय सकिएपछि थपिएको चार मिनेट ईन्जुरी समयको अन्तिममा वडा नं. ५ का लागि सुजित चौधरीले गोल गरेका थिए । सुजितको प्रहार रोक्न वडा नं. २ का गोलरक्षक असफल देखिए ।

सुजित खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई वडा नं. २ का अध्यक्ष तिलक श्रेष्ठ, कार्यपालिका सदस्य शोभा कार्कीलगायतले ट्रफि वितरण गरेका थिए । जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सामुदायिक बिकासशील क्लबले आयोजना गरेको प्रतियोगिताको बिजेताले ५० हजार र उपबिजेताले २५ हजार प्राप्त गर्नेछ । जेष्ठ १७ गतेदेखी सुरु भएको प्रतियोगितामा उपमहानगरको २४ वटा वडाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*