मोटरसाईकल चोरेर भाग्दै गरेका युवकसहित ३ मोटरसाईकल हेटौँडामा नियन्त्रण
मकवानपुर, ३१ जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक मधुकुमार थापाको कमाण्डमा खटेको प्रहरी टोलीले मकवानपुरको हेटौँडामा एक युवकलाई चोरिएको मोटरसाईकल सहित नियन्त्रणमा लिएका छन् ।
प्रहरीले हेटौँडा ११ थानाभर्याङबाट बाराको कोल्हवी नगरपालिका वडा नम्बर ६ बस्ने २६ वर्षीय जितेन्द्र चौधरीलाई चोरेको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । कठमाण्डौको बिभिन्न स्थानबाट मोटरसाईकल चोरी भएको भन्ने बिशेष सुचनाको आधारमा हेटौँडा–११ थानाभर्याङमा लु ३९ प ९५०० र ना ५३ प ७५९ नम्बरको मोटरसाईकल जाँच गर्दा लु ३९ प ९५०० मोटरसाईकल काठमाण्डौ महानगरपालिकाको बबरमहलबाट बुधबार चोरी भएको बुझिएको छ । उक्त मोटरसाईकल धादिङ कटुन्जे–१ घर भई हाल काठमाण्डौ बस्ने ३७ वर्षीय तिलक श्रेष्ठको रहेको बुझिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको वास्तविक मोटरसाईकल नम्बर बा ९४ प ८०६६९ लाई परिवर्तन गरी लु ३९ प ९५०० नम्बरको प्लेट टाँसीएको पाइएको अनुसन्धानमा पत्ता लागेको छ । उक्त मोटरसाईकल सहित बाराका जितेन्द्र चौधरी पक्राउ परेका हुन् ।
त्यस्तै ना ५३ प ७५९ नम्बरको मोटरसाईकल भने काठमाण्डौ महानगरपालिका वडा नम्बर २६ बस्ने ४५ वर्षीयसमन्त तुलाधरको रहेको पत्ता लागेको छ । बुधबार नै काठमाण्डौ महानगरपालिकाको पुरानो नगरपालिका रोड धर्मपथबाट हराएको बा. ९३ प ४८५८ नम्बरको मोटरसाईकल हाल परिवर्तन गरी बा ५३ प ७५९ नम्बरको प्लेट टाँसिएको अनुसन्धानका क्रममा खुलेको हो । तुलाधरले मोटरसाईकल हराएको भन्दै काठमाण्डौमा निवेदन दिएका थिए । उनको मोटरसाईकलमा सवार चालक बाराको करैयामाई गाउँपालिका बस्ने गोविन्द चौधरी हाल फरार रहेको बताइएको छ । उनको खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।
यस अघि प्रहरी निरिक्षक मधुकुमार थापाकै कमाण्डमा रहेको चेकिङ टोलीलाई देखेपछि हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ कुख्रेनी खोलामा बा ५६ प २३६३ नम्बरको मोटरसाईकल छोडी फरार रहेका चालको खोजतलास भइरहेको छ । अनुसन्धानका क्रममा उक्त मोटरसाईकल काठमाण्डौको आरुबारी–९ बस्ने प्रेम बहादुर बि.क.को रहेको बुझिएको छ। उनको मोटरसाईकल जेठ ६ गते काठमाण्डौमा चोरी भएको भन्दै काठमाडौँ माहाशाखामा निवेदन परेको थियो । उनको मोटरसाईकलको वास्तविक नम्बर भने बा ६० प ३२१४ रहेको र नम्बर परिवर्तन गरी चोरहरुले चलाएको पाइएको छ । मोटरसाईकल सवारी धनी बि.क.लाई फिर्ता गर्ने कार्य तयारी गरिएको बताइएको छ ।
