आदिवासी जनजाति अगुवाका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम हेटौँडामा शुरु
हेटौँडा, २७ जेठ । आदिवासी जनजातिका जातिय संस्थाहरुका पदाधिकारी तथा अगुवाहरुका लागि २ दिने भाषणकला तथा नेतृत्व क्षमता अभिबृद्धि कार्यक्रम हेटौँडामा आईतबारबाट शुरु भएको छ ।
हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदको आयोजनामा भएको कार्यक्रममा ३० जना आदिवासी जनजाति समुदायको अगुवाहरुको सहभागिता रहेको छ । जनजाति महासंघका नगर अध्यक्ष जंग बहादुर गुरुङको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका सदस्य कृष्ण बहादुर राई दनुवारको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका समाज कल्याण शाखाका अधिकृत भैरब बहादुर कुमालको विषेश आतिथ्यता रहेको थियो ।
क्षमता अभिबृद्धि तालिमलाई अग्रज पत्रकार कुमार नेगी र मगर युवा संघका केन्द्रीय अध्यक्ष अशोक सारु मगरले सहजिकरण गरेका छन् । आज पहिलो दिनमा सहजकर्ताद्वय नेगी र सारुले भाषणकला तथा व्यक्तित्व बिकास गर्नका लागि आवश्यक पर्ने सैद्धान्तिक पक्षको विषयमा जानकारी गराएका थिए ।
उद्घाटन कार्यक्रममा फोनिज मकवानपुरका अध्यक्ष तथा पत्रकार महासंघ प्रदेश नम्बर ३ का महासचिव कृष्ण सारु मगर, तामाङ घेदुङ मकवानपुरका उपाध्यक्ष कालु घलान, मगर संघ मकवानपुरका अध्यक्ष शंकर थापा मगर, किराँत राई यायोक्खा संघ मकवानपुरका अध्यक्ष केबी राई लगायतको आतिथ्यता रहेको थियो ।
