निर्माण व्यवसायीमाथि भएको धरपकडको मकवानपुरबाट बिरोध
मकवानपुर, २६ जेठ । निर्माण व्यवसायीहरुमाथि केही समययता सरकारले गरेको धरपकड र दुःख दिने कार्यप्रति निर्माण व्यवसायी संघ मकवानपुरले विरोध जनाएको छ । सरकारका निकाय र कतिपय नीतिका कारण सार्वजनिक निर्माणमा समस्या भएको भन्दै संघले निर्माण व्यवसायीमाथि अनावश्यक आरोप लगाएर सरकारले त्रासको वातावरण सिर्जना गरेको भन्दै विरोध गरिएको हो ।
संघको मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिम्लाङमा शनिबार भएको वैठकले त्रासको वातावरण सिर्जना नगर्न सरकारसँग आग्रह समेत गरेको छ । बैठकले काममा ढिलाई गर्ने निर्माण व्यवसायीलाई विधिसम्मत कार्वाही गर्ने व्यवस्था विपरीत त्रास सिर्जना गर्दा निर्माण व्यवसायी पलायन हुने भन्दै सरकारलाई लगानी मैत्री वातावरण वनाउन माग गरेको छ ।
संघका अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा पर्यटकीय स्थल सिम्लाङमा भएको वैठकले जिल्लाको उत्तरीक्षेत्रको पर्यटन प्रबद्र्धन गर्न माग गर्ने निर्णय गरेको छ । ईन्द्रसरोवरलगायत जिल्लाको उत्तरी क्षेत्रलाई पर्यटकीय गन्तब्यरुपमा विकास गर्न सहयोग गर्ने र स्थानीय तह एवं सरोकारवाला निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको संघका महामसचिव श्या ढकालले जानकारी दिए ।
बैठकमा संघका कार्यसमितिका पदाधिकारी, सदस्य एवं सल्लाहकारहरुको उपस्थिति रहेको थियो । बैठकको शुभारम्भमा संघका कार्यसमितिका सदस्य एवं इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष जमानसिं वाइवाले व्यावसायिक संघ संस्थाहरुको जिल्लाको विभिन्न स्थानमा हुने बैठकले आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।
