मानार्थ अध्यक्ष उपाधिपछि डा. देवकोटाले भने ‘बेस्ट अफ लक, आइएम ह्याप्पी’
काठमाडौं, २६ जेठ / नेप्लिज न्युरो सर्जन सोसाइटीले मानार्थ अध्यक्ष उपाधिबाट वरिष्ठ न्युरो सर्जन प्राडा उपेन्द्र देवकोटालाई सम्मान गरेको छ ।
नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एप्लाइड साइन्सेस बाँसबारीमा सघन कक्षमा उपचारत डा देवकोटालाई आज अस्पताल पुगेर सोसाइटीले मानार्थ अध्यक्षको प्रमाणपत्र प्रदान गरेको हो ।
सोसाइटीका अध्यक्ष प्रा डा मोहनराज शर्माले अस्पतालको आइसियुमै पुगी डा देवकोटालाई मानार्थ अध्यक्षको उपाधि हस्तान्तरण गरेको जानकारी दिए ।
उपाधि ग्रहण गर्दै डा देवकोटाले ‘बेस्ट अप लक नेप्लिज न्युरो सर्जन सोसाइटी आइएम ह्याप्पी’ भनेर मुस्कुराउँदै प्रतिक्रिया दिएको अध्यक्ष शर्माले जानकारी दिए ।
‘हामीले सामान्य दोहोरो कुराकानी गर्यौँ, उपचार भइरहेको समयमा फैलिएको दुःखद् समाचारमा परिवारमा आहत पुर्याएको छ, यति निर्दयी भएर समाचार दिन हतार नगर्दा हुन्थ्यो ।’ उनले परिवारको भावनाको कदर गर्न अनुरोध समेत गरे ।
सोसाइटीका उपाध्यक्ष डा कृष्ण शर्मा, सचिव डा प्रवीण श्रेष्ठ, डा गोपाल सेढाईंलगायतका न्युरो सर्जनसहितको टोली उपाधि हस्तान्तरण गर्न अस्पताल पुगेका थिए । – रासस
