बाल विवाहमुक्त प्रदेश बनाउन एकजुट

तु खबर संवाददाता
२०७५ जेष्ठ २६, शनिबार १०:५३

मकवानपुर, २६ जेठ । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक कार्ययोजना सहित सरोकारवालाहरुले सघाउ पु¥याउनुपर्नेमा जोड दिएका छन् । मकवानपुरको हेटौंडामा शुक्रबार बाल कल्याण समाज मकवानपुरले बालिका दुलही होइनन्,राष्ट्रिय सञ्जाल नेपालको सहयोगमा आयोजना गरेको ‘बाल विवाह अन्त्यका लागि प्रदेश स्तरिय नीतिगत छलफल कार्यक्रम’ मा सहभागी सरोकारवालाले यस्तो जोड दिएका हुन् ।

कार्यक्रममा प्रदेश ३ का सांसद जुनेली श्रेष्ठले बाल विवाह अन्त्य हुनुपर्ने आवाज लामो समय देखि उठिरहे पनि नीतिगत रुपमा कार्ययोजना बनाएर प्रदेश सरकार अघि बढेकाले अब सार्थकता पाउँने विश्वास व्यक्त गरेकी छिन् । आगामी तीन वर्षभित्र प्रदेश ३ लाई बाल विवाहमुक्त बनाउने अभियानमा प्रदेश सरकार भएको भन्दै उनले प्रदेश सरकारले अघि बढाएको महत्वपूर्ण नीति तथा कार्यक्रमलाई सफल बनाउँन सबै पक्ष जिम्मेवार हुनु आवश्यक भएको बताईन् । ’सरकारले अघि सारेको ‘सुखी नेपाली, समृद्घ नेपाल’ को नारा लाई सार्थकता दिनका लागि पनि बाल विवाह अन्त्य गर्न सरोकारवालाहरुका साझा कार्यक्रम आउँनुपर्नेमा उनले जोड दिइन् । सांसद श्रेष्ठले पछिल्लो समय नेपालमा बढ्दो सूचना प्रविधिको विकासका कारण पनि बाल विवाह हुने गरेको बताउँदै अब जनप्रतिनिधी, सरकारी एवम् गैरसरकारी संघसंस्थाका प्रतिनिधी लगायत सरोकारवाला योजनाबद्घ रुपमा लागेमा प्रदेश सरकारले अघि सारेको तीन वर्षभित्र बालविवाह अन्त्य गर्ने लक्ष्य पूरा हुने बताइन् ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले मुलुकको समृद्घि र उन्नतीका लागि विभिन्न सामाजिक समस्याहरु अन्त्य गरिनुपर्नेमा जोड दिदैं बालविवाह अन्त्य गर्न सकिए विकासको गतिले फड्को मार्ने धारणा राखे । बालविवाहका कारण व्यक्ति, परिवार, समाज तथा राष्ट्रमै विभिन्न समस्या आईपर्ने बताउँदै प्रमुख खुलालले सिंहदरबारको अधिकार अब घरदैलोमा आइपुगेको र बालविवाह जस्ता सामाजिक अपराध अन्त्य गर्ने सवालमा सरकारलाई सबै मिलेर सघाउनुपर्ने बताए । प्रमुख खुलालले बाल विवाह अन्त्य गर्ने साझा सवालमा गैससहरुले खेलिरहेको भूमिका प्रभावकारी बनेको बताए । बालकल्याण समाज मकवानपुर जस्ता समाजका नमूनालायक गैससको भूमिका बाल विवाह अन्त्यका लागि प्रभावकारी भएको र अरु सामाजिक अभियानमा लागिपरेका गैससहरुले पनि बालविवाह अन्त्य गर्ने सवालमा एक जुट भएर अघि बढ्नु आवश्यक भएको उनले औँल्याए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव शम्भुप्रसाद भट्टराईले बालविवाह अन्त्यका लागि मन्त्रालयले सामाजिक जागरणको काम गरिरहेको जानकारी दिए । गरिबी, अशिक्षा, बेरोजगारी लगायत समस्याका कारण पनि वाल विवाह भइरहेकाले समाजमा जागरणको काम आवश्यक रहेको बताए । केन्द्रिय बाल कल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले नेपाल सरकारले सन् २०३० भित्र नेपालमा बाल विवाह अन्त्य गर्ने नीति लिएकाले सरकारको लक्ष्य सफल बनाउँन बालअधिकारका क्षेत्रमा क्रियाशील संघसंस्थाहरुको पनि साथ आवश्यक भएको बताए ।

बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा बालविवाह विरुद्घ सकारको रणनीतिक योजनाका विषयमा बालिका दुलही होइनन्, राष्ट्रिय सञ्जाल नेपालका केन्द्रिय सदस्य अजित आचार्य, मकवानपुर लगायत १४ जिल्लामा बाल विवाहका सम्बन्धमा गरिएको सर्वेक्षणका विषयमा बाल अधिकारकर्मी सुशीलराज गिरी, मकवानपुरमा बाल विवाहको अवस्थाका विषयमा नेपाल पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्टले प्रस्तुतीकरण गरेका थिए ।

प्रदेशस्तरिय नीतिगत छलफल कार्यक्रममा सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत दुर्गा घिमीरे, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कृष्ण घिमीरे, नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईं, केन्द्रिय बाल कल्याण समितिका सदस्य निशा न्यौपाने, केन्द्रिय बालकल्याण समितिका मिठु आचार्य, सिविन बाल हेल्पलाइन हेटौंडाका कार्यक्रम संयोजक भविन्द्र ज्ञवाली, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रकाश श्रीमल, समृद्घ समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठ लगायतले प्रदेश सरकारले २०७५ साल भित्र बाल विवाह अन्त्य गर्ने महत्वकांक्षी लक्ष्य पूरा गर्न सबै सरोकारवाला जिम्मेवार भएर लागिपर्नुपर्ने बताए ।

कार्यक्रम आयोजक बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले बाल विवाह अन्त्यका लागि बालिका दुलही होइनन्, राष्ट्रिय सञ्जालसंग सहकार्य गरेर विभिन्न अभियान सञ्चालन गरिएको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*