मनहरीमा अपाङ्ग भवनको सुरुवात

तु खबर संवाददाता
२०७५ जेष्ठ २६, शनिबार १०:३७

मनहरी, २६ जेठ । मनहरी गाउँपालिका ७ रमन्टारस्थित अपाङ्ग स्वावलम्बन जीवन पद्धति केन्द्रको नयाँ भवन शुक्रबार उद्घाटन गरिएको छ । मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले नयाँ भवनको उद्घाटन गरेका हुन् ।

अध्यक्ष उप्रेतीले उद्घाटन समारोहलाई सम्बोधन गर्दै अपाङ्गता भएकाहरुको खुसीका लागि गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने बताए । उनले आगामी बजेटमा समेत अपाङ्गता भएका व्यक्तिहरुका लागि उचित ढंगले बजेट बिनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्दै अपांगता भएका व्यक्तिहरुको क्षमता तथा सीप विकास एवं आत्मनिर्भरताका लागि स्थानीय सरकारले योजनाबद्ध काम गर्ने बताए ।

मनहरी गाउँपालिकाको ४ लाख आर्थिक सहयोगमा निर्माण भएको भवन निर्माणमा विभिन्न संघसंस्थाहरुले समेत सहयोग गरेका थिए । बाथरुम तथा आवाससहितको भवनलाई आगामी दिनमा अपाङ्गता स्रोत केन्द्रको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । संस्थाका अध्यक्ष सुरेश घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा सदस्य दिलबहादुर स्याङ्बो शरणले स्वागत गरेका थिए । कार्यक्रममा समाजसेवी रामहरि सुवेदी, मनहरी एफएमका स्टेशन म्यानेजर शिवकुमार काशी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

यसैबीच अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकास तथा हक अधिकारका लागि क्रियाशील रहने गरी दिलबहादुर स्याङ्बोको अध्यक्षता मनहरी गाउँपालिकास्तरीय अपाङ्ग समन्वय समिति गठन भएको छ । समितिको उपाध्यक्षमा दुर्गा कार्की, सचिव खेम मुक्तान, कोषाध्यक्ष रोशनी थोकर तामाङ रहेका छन् । सदस्यहरुमा लीलाराम भट्ट, खिमबहादुर गुरुङ, दिपक थिङ, सानुकान्छा तामाङ, कृष्णप्रसाद बिडारी रहेका छन् । समितिको गठन मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको प्रमुख आतिथ्यतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*