थारु महिलाको दोस्रो अधिवेशन भोलि हेटौँडामा हुने
मकवानपुर, २५ जेठ । थारु महिला सभाको दोस्रो केन्द्रिय अधिवेशन शनिबार हेटौँडामा हुने भएको छ । थारु महिला सभा केन्द्रीय कमिटि तथा जिल्ला कमिटिले आज हेटौँडामा पत्रकार सम्मेलन गरी अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको हो ।
अधिवेशनका बारेमा जानकारी दिँदै थारु महिला सभाकी केन्द्रीय अध्यक्ष हरिदेवी चौधरीले बिहान ७ बजे हेटौँडा ४ पशुपति मन्दिरको सभाहलमा हुने कार्यक्रममा उपस्थित भइदिन सबैलाई अनुरोध गरिन् । अधिवेशनमा २२ जिल्लाका ४–४ जना प्रतिनिधि उपस्थित हुने र प्रत्येक जिल्लाबाट १ जना सदस्य चयन गरि केन्द्रीय कमिटि निर्माण गरिने अध्यक्ष चौधरीले बताईन् ।

पत्रकारसँग कुराकानी गर्दै उनले पूर्व र पश्चिमका विभिन्न जिल्लाहरुबाट आउने प्रतिनिधिका लागि हेटौँडा नै केन्द्रमा पर्ने भएको कारण हेटौँडामा नै अधिवेशन आयोजना गरिएको बताईन् । अधिवेशनले नयाँ कार्य समिति समेत चयन गर्नेछ ।
अधिवेशनमा सांसद पदमनारायण चौधरीको प्रमुख आतिथ्यता रहनेछ । पत्रकार सम्मेलनमा संचारकर्मीहरु सहित अध्यक्ष चौधरी, द्रौपदी चौधरी लगायत थारु महिलाको केन्द्रीय तथा जिल्ला कमिटिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
