खुल्ला शिक्षक भलिबलमा बुद्ध माविको जीत, आधुनिक पराजित
हेटौँडा, २५ जेठ । मदन भण्डारी स्र्पोट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघको आयोजनामा आजदेखि हेटौँडामा खुल्ला पुरुष शिक्षक भलिबल प्रतियोगिता सुरु भएको छ । आज दिउँसो हेटौँडाको हुप्रचौरमा भएको खेलमा आधुनिक राष्ट्रिय उच्च माविलाई हेटौँडा १२ पान्तलेको बुद्ध माविले पराजित गरेको छ ।
बुद्धले १६–२५, २५–१० र १५–११ को सेटमा आधुनिकलाई पराजित गरेको हो । बुद्धको अर्को खेल भोलि बिहान ७ बजे हुने शिक्षक मनोहर ढकालले जानकारी दिए । बुद्धको टिममा शिक्षक मनोहर ढकाल सहित रबिन्द्रप्रसाद सिंह, पूर्ण लामा, हरिप्रसाद नेपाल, किसन थापा र रोजकुमार थिङ रहेका छन् ।

नक आउटका आधारमा खेलाइएको प्रतियोगितामा २५ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र र उपविजेताले ३ हजार नगद तथा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
एकेडेमीकै आयोजनामा आउँदो असार १ गते महिला शिक्षक म्युजिकल चियर प्रतियोगिताको समेत आयोजना गरिएको छ । असार १ गते हुने महिला शिक्षक म्युजिकल चियर प्रतियोगितामा प्रथम, द्वितिय तथा तृतिय हुनेलाई नगद ३ हजार, २ हजार तथा एक हजार र मेडल तथा प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
