नवोदयका विद्यार्थीको वातावरण मोह , यसरी जगाए वातावरणबारे सचेतना

तु खबर संवाददाता
२०७५ जेष्ठ २४, बिहीबार २०:५७

हेटौँडा, २४ जेठ । ४६ औँ विश्व वातावरण दिवसको अवसरमा हेटौँडा ४ मा रहेको नवोदय शिशु सदनले वातावरण सप्ताह सञ्चालन गरेको छ । कक्षा १,२ र ३ का विद्यार्थीहरुले आइतबारका दिन आफ्नै विद्यालय वरिपरि सरसफाइ गर्नुका साथै फुलवारी तथा बोटविरुवामा पानीसमेत हालेका थिए । त्यस्तै मङ्गलबार कक्षा ४ का विद्यार्थीहरुले समूह बनाई हेटौँडाको विभिन्न चोकहरुमा बसेर स्वच्छ वातावरण बनाउनका लागि पैदल यात्रीहरुलाई सचेत गराएका छन् ।

हेटौँडाको सीमा चोक, बुद्ध चोक, मानस चोक र शीतलमहल चोकमा बसेर पानीको प्रगोग कसरी गर्ने ? फोहोरको व्यवस्थापन तथा पुनःप्रयोगको बारेमा सर्वसाधारणलाई जानकारी गराएका थिए । मङ्गलबारकै दिन कक्षा सातका विद्यार्थीहरुले पनि सङ्गम चोकमा सडक नाटक प्रस्तुत गरेका थिए भने कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले वातावरणसम्बन्धी सचेतना गीत गाएर पैदल यात्रुहरुलाई सचेत गराएका थिए । त्यस्तै विभिन्न चित्रहरु पनि कोरेर टाङ्गेका थिए । सप्ताह अन्तर्गत बुधबार हेटौँडा ११ थानाभर्याङमा रहेको शङ्कर ज्योति निम्न माध्यमिक विद्यालयमा गएर कक्षा ५, ६, ७ र ८ का विद्यार्थीहरुलाई पुराना कागजको कसरी पुनः प्रयोग गर्ने विषयमा तथा फोहोर व्यवस्थापन सम्बन्धी कक्षा ६ का विद्यार्थीहरुले अन्तरक्रियासमेत गरेका छन् ।

त्यस्तै बिहीबारका दिन हेटौँडा ४ मा अवस्थित पशुपति मन्दिर परिसरमा ४ थान फोहोरदानी वितरण गर्नुका साथै नाटक र सचेतना गीत पनि प्रस्तुत गरिएको छ । यस्ता खालका कार्यक्रमले हेटौँडा नगर साँच्चै हरितनगरीको रुपले चिनिन समय लाग्दैन तर सबै क्षेत्रबाट पर्याप्त सहयोग र साथचाहिँ हुनु जरुरी छ भन्ने कुरा विद्यालयका शिक्षक सिएम रिमालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*