ईन्धनको मूल्य वृद्धि र शिक्षामा शुल्क वृद्धिका विरुद्ध हेटौँडाबाट तात्तिए विद्यार्थी, सोमबार देशव्यापी शैक्षिक हडताल घोषणा

तु खबर संवाददाता
२०७५ जेष्ठ २०, आईतवार १९:१२

मकवानपुर, २० जेठ । शिक्षा क्षेत्रमा भएको चरम शुल्क वृद्धि र केपी शर्मा ओली नेतृत्वको सरकारले पटक–पटक इन्धनको मूल्य बढाएको विरोधमा हेटौँडाबाट विद्यार्थीहरु जुर्मुराएका छन् । मूल्य तथा शुल्क वृद्धिको विरोध गर्दै प्रतिपक्षीय विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र नयाँ शक्ति विद्यार्थी युनियनले देशव्यापी शैक्षिक हडतालको केन्द्रीय कार्यक्रम अन्तर्गत सोमबार मकवानपुरका सबै शैक्षिक संस्थाहरु बन्द गर्ने भएको छ ।

अखिल (क्रान्तिकारी) नारायणी क्षेत्रीय समन्वय समितिका संयोजक मदन के.सी. र नयाँ शक्ति विद्यार्थी युनियन मकवानपुर जिल्ला संयोजक धनकुमार लामाद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा शैक्षिक आन्दोलनलाई सहयोग गर्न सबैलाई आग्रह गरिएको छ ।

प्रतिपक्षीय विद्यार्थी संगठन निरन्तर शैक्षिक अधिकार प्राप्तिको लागि संघर्षरत रहेको भन्दै शिक्षा क्षेत्रमा देखिएका चरम निजीकरण,दलालीकरण, माफियाकरण र भ्रष्टाचार विरुद्ध चरणबद्ध रुपमा आन्दोलनमा रहेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै केही समयअघि जिल्ला शिक्षा कार्यालयमा १३ बुँदे मागपत्र र प्याब्सनमा ७ बुँदे मागपत्र बुझाएपनि मागहरु कार्यान्वयन नभएपछि दोस्रो चरणको आन्दोलन अन्तगर्त विभिन्न शैक्षिक संस्थामा तालाबन्दी समेत गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शैक्षिक हडतालका बेलामा आन्दोलनलाई उल्लङ्घन गरेमा जिम्मेवारी स्वयम शैक्षिक संस्था नै हुने विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*