साधन स्रोतको न्यायोचित वितरण हुनेपर्नेमा मुख्यमन्त्रीको जोड

तु खबर संवाददाता
२०७५ जेष्ठ १९, शनिबार २०:४७
file-photo

बाग्लुङ, १९ जेठ । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राज्यका सबै तहमा साधन स्रोतको न्यायोचित वितरण हुनुपर्ने बताउनुभएको छ । बागलुङ नगरपालिकाद्वारा आज यहाँ आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “राज्यको स्रोत साधानमा सबैको बराबरी हक लाग्छ ।”

“स्रोत साधनको न्यायोचित वितरण हुनुपर्छ”, मुख्यमन्त्री गुरुङले भन्नुभयो, “असमानता, विभेद भयो भने विकास र समग्र प्रक्रिया प्रभावित हुन्छ ।” उहाँले संघीय सरकारले प्रदेश नं ४ लाई कम बजेट छुट्याएकामा असन्तुष्टि व्यक्त गर्दै “संघीय राज्य व्यवस्थाको मर्मअनुरुप बजेट आएन, स्रोत साधनलाई केन्द्रमै सीमित गर्न खोजिएजस्तो देखिन्छ,” भन्नुभयो ।

मुख्यमन्त्री गुरुङले राज्य सत्तामा केन्द्रदेखि स्थानीय तहसम्मको समान हक लाग्ने हुँदा स्रोत साधनको वितरण न्यायोचित हुनुपर्नेमा जोड दिदैें प्रदेश सरकार र स्थानीय तहले जनशक्ति र स्रोत साधनको अभावमा प्रभावकारी काम गर्न नसकेको बताउनुभयो ।

प्रदेश सरकार बनेको महिनौँ बित्दासम्म संघीय सरकारले कर्मचारी पठाउन नसक्नु दुःखद हो, उहाँले भन्नुभयो, “प्रदेश सरकार र स्थानीय तहलाई स्रोत साधनले सम्पन्न गर्न सकेमात्र आर्थिक समृद्धिको राष्ट्रिय लक्ष्य पूरा हुन्छ ।” मुख्यमन्त्री गुरुङले प्रदेश नं ४ को समृद्धिको आधार तयार गर्ने गरी बजेट, नीति र कार्यक्रम ल्याइने बताउँदै पूर्वाधार, सामाजिक र मानवीय विकासलाई पनि प्रदेश सरकारले ध्यान दिइने धारणा व्यक्त गर्नुभयो । (रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*