प्रदेश ३ मा प्रदेश प्रहरीको व्यवस्थापन र प्रदेश अनुसन्धान ब्यूरो बनाइने
हेटौँडा, १८ जेठ । प्रदेश नम्बर ३ मा बहुवर्षिय योजना अन्तरगत कार्यान्वयन गर्ने गरि प्रदेश प्रहरी गठन गर्ने र प्रदेश अनुसन्धान ब्यूरो स्थापना गरिने भएको छ ।
आज संसदमा प्रस्तुत गरिएको ३ नम्बर प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार बहुवर्षीय योजना अन्तरगत कार्यान्वयन गर्ने गरी प्रदेश प्रहरी सुदृढीकरण परियोजना निर्माण गरी प्रदेश प्रहरी गठन गर्ने उल्लेख छ ।
त्यस्तै आवश्यक दरबन्दीको सृजना तथा भर्ना, आफ्नै आवास गृह, चौकी तथा तालिम केन्द्रको स्थापना र सवारी साधन लगायतका आवश्यक लजिष्टिक उपलब्ध गराई प्रदेश प्रहरीलाई सक्षम, सुदृढ र व्यवस्थित गरिने समेत बताइएको छ । त्यस्तै प्रदेश भित्रको अपराध अनुसन्धान, सूचना संकलन, रोकथाम र नियन्त्रणको लागि प्रदेश अनुसन्धान ब्युरो गठन गरी कार्यान्वयनमा ल्याइने र प्रदेश सरकारको मातहतमा रहने कारागारलाई व्यवस्थित गर्दै सुधार गृहको रुपमा परिणत गरिने उल्लेख छ ।
त्यस्तै सरकारमा पहुँच नभएका र विभिन्न किसिमले अन्यायमा परेका महिला, दलित र अपाङ्गता भएका व्यक्ति लगायत विभिन्न वर्ग, समुदायलाई सहयोग गर्न र शान्ति सुरक्षाको अनुभूति दिलाउन स्थानीय सरकारसँग सहकार्य गरी प्रत्येक स्थानीय तहमा आवश्यकता अनुसार जनसम्पर्क तथा कानूनी सहायता अधिकारी नियुक्ति गर्न आवश्यक व्यवस्था गरिने र मदिरा बिक्रीका लागि निश्चित समय, विधि, प्रक्रिया र स्थान तोक्ने व्यवस्था मिलाईने उल्लेख गरिएको छ ।
