प्रदेश ३ नीति तथा कार्यक्रम : माध्यमिक विद्यालयमा नर्सको व्यवस्था, महिनावारीका विषयमा पाठ्यक्रम, तालिमप्राप्त स्वास्थ्यकर्मी सहितको एम्बुलेन्सको व्यवस्था
हेटौँडा, १८ जेठ । प्रदेश नम्बर ३ सरकारले प्रदेश भित्रका माध्यमिक विद्यालयहरुमा नर्सको व्यवस्था गर्ने भएको छ । आज प्रस्तुत भएको प्रदेश सरकारको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गर्न लागिएको उल्लेख छ ।
त्यस्तै विद्यालयमा अध्ययनरत छात्रा महिनावारी हँुदा अनुपस्थित हुने अवस्था घटाउन जनचेतना जगाउने र यो विषय पाठ्यक्रममा समावेश गरिने कार्यक्रममा उल्लेख गरिएको छ । त्यस्तै महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनको व्यवस्था गरिने र प्रत्येक गाउँपालिका र नगरपालिकामा औषधी, अक्सिजन र तालिमप्राप्त स्वास्थ्यकर्मी सहितको एम्बुलेन्सको व्यवस्था गर्न र दुर्घटनाका कारण हुने घाइतेको शीघ्र उपचार तथा उपयुक्त ठाउँमा पठाउने गरी राजमार्गमा एक एक घण्टाको दूरीमा दुर्घटना रेस्पोन्स सेन्टरको स्थापना गर्न संभाव्यता अध्ययन गरिने उल्लेख छ ।
साथै आगामी पाँच वर्षमा मातृ तथा शिशु मृत्युदर घटाइ विकसित राष्ट्र सरह पुर्याइने भनिएको छ ।
