‘हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाईने’, प्रत्येक स्थानीय तहमा अस्पताल
हेटौँडा, १८ जेठ । प्रदेश नम्बर ३ को हेटौँडामा रहेको हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान बनाईने भएको छ । आज ३ नम्बर प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोईरालाले सो कुरा उल्लेख गरेकी हुन् । हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने कार्यक्रम अगाडि बढाईने बुँदा नीति तथा कार्यक्रमको ७९ औँ नम्बरमा छ ।
त्यस्तै आधारभूत स्वास्थ्य सेवा निःशुल्क र त्यसको प्रभावकारी कार्यान्वयन गरिने समेत कार्यक्रममा उल्लेख छ । स्वास्थ्य वीमा कार्यक्रमलाई प्रदेशभरि विस्तार गरिने र निःशुल्क स्वास्थ्य वीमा कार्यान्वयनको लागि गरिब घरपरिवार पहिचान परिचयपत्र वितरण कार्य सम्पन्न गराइने समेत बताइएको छ । त्यस्तै मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गरी नसर्ने रोगको जोखिम न्यूनिकरण गरी जनताको स्वास्थ्य अधिकार सुनिश्चित गरिने र सरुवा रोग एवं महामारीको रोकथाम, उपचार, नियन्त्रण, निवारण र व्यवस्थापनमा विशेष जोड दिने समेत सरकारले कार्यक्रममा उल्लेख गरेको छ ।
प्रत्येक स्थानीय तहमा १५ देखि ५० शैयाको अस्पताल, प्रादेशिक निर्वाचन क्षेत्रमा आयुर्वेद, प्राकृतिक चिकित्सा लगायत अन्य पुरक चिकित्सा र प्रचलित परम्परागत उपचार सेवालाई विस्तार गरिने र योग, ध्यान लगायतका क्षेत्रमा अनुसन्धान र उपचार सेवा प्रर्बद्धनका लागि प्रदेशस्तरीय योग तथा प्राकृतिक उपचार अनुसन्धान केन्द्र स्थापना गरिने समेत कार्यक्रम उल्लेख छ ।
दक्ष प्रसुति सेवाकेन्द्र विस्तार तथा सुदृढिकरण गर्दै नर्सिङ्ग तथा मिडवाइफ्री सेवाको विस्तार तथा व्यवस्थापन गरी महिलाको प्रजनन् स्वास्थ्य सम्बन्धी हक सुनिश्चित गरिने आङ्ग खस्ने समस्याको उपचारको सहज व्यवस्था गर्ने समेत ३ नम्बर प्रदेश सरकारले लक्ष्य लिएको छ । पाँचवर्ष मुनिका बालबालिकामा देखा परेको कुपोषण न्यूनिकरण गर्न पोषणसम्बन्धी विशेष कार्यक्रम ल्याउने लगायतका अन्य कार्यक्रमहरु समेत सार्वजनिक भएको नीति तथा कार्यक्रममा समावेश छ ।
