नारायणकाजी भन्छन्–‘समाजवाद आउन समय लाग्छ’

तु खबर संवाददाता
२०७५ जेष्ठ १७, बिहीबार १९:५०
file-photo

काठमाडौँ, १७ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले मुलुकमा समाजवाद आउन केही समय लाग्ने बताउनुभएको छ । साम्यवादका प्रणेता कार्ल माक्र्सको द्विजन्मशताब्दीको अवसरमा आयोजित ‘माक्र्सवाद र समाजवाद’ शीर्षक अन्तर्राष्ट्रिय सम्मेलनको आज यहाँ समापन गर्दै उहाँले समाजवादका लागि पूर्वाधार बन्न केही समय लाग्ने भएकाले अलि ढिला आउने बताउनुभयो । “अहिलेको कम्युनिष्ट सरकारले पनि जनताका लागि केही गर्न नसके कम्युनिष्ट आन्दोलन मात्र नभई देशलाई नै घाटा हुन्छ”, उहाँले भन्नुभयो, “त्यसैले हामी मुलुकमा केही गर्ने दिशामा सफल हुनैपर्छ ।” उहाँले बहुदलीय प्रतिष्पर्धाबाट आएकाममध्ये संसारको सबैभन्दा ठूलो पार्टी नेपालमा बनेको पनि जिकिर गर्नुभयो ।

अहिलेका परिस्थितिअनुसार मुलुकलाई माक्र्सवादको प्रणालीबाट अगाडि बढाउन आवश्यक छ भन्दै उहाँले सूचना प्रविधिको विकाससँगै माक्र्सवादको पनि विकास आवश्यक भएको धारणा राख्नुभयो । उहाँले मुलुकको आर्थिक, राजनीतिक र सामाजिक विकास माक्र्सवादको सिद्धान्तबाट मात्र गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले माक्र्सवाद व्यावहारिक र वैज्ञानिक विचारका रुपमा अगाडि आएको बताउँदै भन्नुभयो, “ नेपालको कम्युनिष्ट आन्दोलन फरक र आफ्नै परिवेशको भएकाले आवश्यकताअनुसार सिद्धान्तलाई प्रयोग गर्ने गरेका छौँ ।”

दुईदिने सम्मेलनमा नेपालमा दुई कम्युनिष्ट पार्टी एकीकृत भएकामा धन्यवाद दिँदै कम्युनिष्ट सरकार सफल हुनाका साथै मुलुकको विकासका लागि अग्रणी भूमिकासमेत खेल्ने भनी छबुँदे घोषणापत्रसमेत जारी गरिएको छ । कार्यक्रममा भारतीय कम्युनिष्ट पार्टी (एमएल लिवरेशन)का पोलिटब्यूरो सदस्य कविता कृष्णानले आर्थिक मन्दीपछि अमेरिका जस्तो विकसित देशमा पनि कम्युनिष्टप्रति आकर्षण बढ्दै गएको बताउनुभयो । कार्यक्रममा नेपालसहित २२ देशका प्रतिनिधिको सहभागिता थियो । (रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*