केन्द्र सरकारको बजेटमा परेन हेटौंडा काठमाडौँ सुरुङमार्ग
मकवानपुर । केन्द्रीय सरकारले आज ल्याएको बजेटमा विभिन्न स्थानमा ७ वटा सुरुङमार्ग बनाउने घोषणा गरेको छ । तर, दूर्भाग्य त्यसमा हेटौंडा काठमाडौँ सुरुङमार्ग परेन ।
अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा अन्य ठाउँमा सुरुङमार्ग बनाउने घोषणा भएको छ ।
हेटौंडा काठमाडौँ सुरुङमार्ग बनाउने घोषणा भएन । सरकारले नागढुङ्गा नौबिसे, बीपी राजमार्गको खुर्कोट चियाबारी, सिद्धार्थ राजमार्गको सिद्धबाबा, बीपीनगर खुटिया दिपायल र गणेशमान मार्गको थानकोट चित्लाङमा सुरुङ मार्ग बनाउने घोषणा गरेको छ ।
बहुचर्चित हेटौंडा काठमाडौँ सुरुङमार्ग निर्माण गर्ने वा नगर्ने विषयमा भने सरकारको बजेट वक्तब्यमा केही पनि उल्लेख छैन । २०६९ सालबाट नीजि क्षेत्रले हेटौंडा काठमाडौँ सुरुङमार्ग निर्माणको लागि पहल सुरु गरेको थियो । यसमा सरकारले पनि नेपाल पूर्वाधार कम्पनी नामको नीजि सस्थालाई सुरुङमार्ग निर्माणमा सघाएको थियो ।
हेटौंडालाई ३ नम्बर प्रदेशको राजधानी तोकिएपछि यो सुरुङमार्ग बन्नेमा धेरै आसा पलाएको थियो । प्रदेश सरकारका मख्यमन्त्री डोरमणि पौडेलले पनि हेटौंडा काठमाडौँ सरकारको गौरवको आयोजना भएको बताएका थिए । तर, केन्द्रीय सरकारले हेटौंडा काठमाडौँ सुरुङमार्गलाई आफ्नो योजनामा समेटेन । सुरुङमार्ग निर्माणमा सुरुवातदेखिनै लविङ गरिरहेका सिद्धिलाल श्रेष्ठले सरकारले यसलाई प्राथमिकतामा नपार्नु दुखद् भएको प्रतिक्रिया दिएका छन् ।

