कहाँ बन्छ प्रदेश ३ को स्थायी राजधानी ? सांसदहरुको माग यस्तो छ

तु खबर संवाददाता
२०७५ जेष्ठ १५, मंगलवार ०८:५१

हेटौँडा, १५ जेठ । करिब २ महिना अघिसम्म चर्काचर्की बहसको रुपमा बाहिर आएर रोकिएको प्रदेश नम्बर ३ को स्थायी राजधानी र नाम तोक्ने विषयले वर्षे अधिवेशन सुरु भएसँगै पूनः निरन्तरता पाएको छ । राजधानी र प्रदेशको नाम तोक्न ल्याङल्याङ गर्न नहुने कुरामा सांसदहरुले संसदमा चर्को बहस छेडेका छन् ।

३ नम्बर प्रदेशका प्रदेशसभा सदस्यहरुले प्रदेशको स्थायी राजधानी यथाशिघ्र तोक्न ध्यानाकर्षण सोमबारको बैठकमा ध्यानाकर्षण गरेका हुन् । यसअघि आईतबारको बैठकमा प्रदेशको नामाकरणको समेत कुरा उठेको थियो । प्रदेशसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्ने ७ जना प्रदेशसभा सदस्यले प्रदेशको राजधानी यथाशिघ्र तोक्न ध्यानाकर्षण गराएका हुन् । उनीहरुले प्रदेशसभाले गठन गरेको प्रदेश राजधानीबारे अध्ययन गर्न गठित अध्ययन समितिको कार्यप्रगतिबारे जानकारी माग गर्दै राजधानीबारे चाँडै टुंगो लगाउनुपर्ने बताए । बैठकमा बोल्दै प्रदेशसभा सदस्य रामकाजी महर्जन, चन्द्रबहादुर लामा, लालकुमारी पुन, हिरानाथ खतिवडा, मिनाकुमारी नेपाल, लक्ष्मण लम्साल र सरस्वती बाटीले यथाश्रिघ प्रदेशको राजधानीबारे निर्णय लिनुपर्नेमा जोड दिएका हुन् ।

उनीहरुले संवैधानिक प्रक्रियाबाट प्रदेशको राजधानीबारे टुंगो लगाउनुपर्ने बताउँदै राजधानी टुंगो लगाउन अध्ययन समिति गठन गरेको प्रदेशसभा सदस्यहरुको ‘आँखामा छारो’ हाल्न खोजेको समेत आरोप लगाए । उनीहरुले प्रदेशसभा सदस्यहरुको त्यस्तो शैलीलाई ल्याङल्याङ गर्ने शैली भएको भन्दै आपत्ति जनाएका छन् ।

यस्तै, प्रदेशसभा बैठकमा बोल्दै प्रदेशसभा सदस्यहरुले सडक पूर्वाधार निर्माण र स्वच्छ खानेपानीको व्यवस्था गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभा सदस्य प्रभात तामाङले गल्छी–स्याफ्रुवेसी सडक संचालन गर्न माग गरे । उनले रसुवा गढी नाकबाट केरुङ जान उपलव्ध हुने पासलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिएका थिए । उनले व्यवसायीहरुलाई बैंकले अनियन्त्रित व्याज लिईरहेको भन्दै यसबारे समन्वय गरेर समस्या समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

प्रदेशसभा सदस्य शोभा शाक्यले अदालतबाट दोषी ठहर भएका बालकृष्ण ढुंगेललाई जेलमुक्त गर्न लागेको प्रति आपत्ति समेत जनाईन् । सभासद लालकुमारी पुनले संघीय संसदमा झैं प्रदेशसभामा पनि एभरेष्ट बैंकमै खाता खोल्न लगाउनु सिण्डिकेट भएको भन्दै सरकारी बैंकमै खाता संचालन हुनुपर्नेमा जोड दिईन् । प्रदेशसभामा प्रदेशसभा सदस्य रजनी अमात्य जोन्छे, चेतनाथ सञ्जेल, सन्तबहादुर प्रजा, लक्ष्मण लम्साल लगायतले पूर्वाधार निर्माण अव्यवस्थित भएको, खानेपानीका कारण प्रदेशका बासिन्दा समस्यामा परेको लगायतका समस्या राख्दै व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । आगामी बैठक जेठ १७ गते बस्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*