कृष्ण सेन ‘इच्छुक’ पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार नवराज शर्मा पुरस्कृत
हेटौँडा, १३ जेठ । क्रान्तिकारी पत्रकार संगठन, नेपाल मकवानपुर शाखाले स्थापना गरेको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार नवराज शर्मालाई प्रदान गरिएको छ । इच्छुकको १६ औं स्मृति दिवसका अवसरमा आज हेटौँडामा आयोजित ‘कृष्ण सेन ‘इच्छुक’ पत्रकारिता पुरस्कार वितरण तथा फोन डायरी विमोचन’ कार्यक्रममा उनलाई पाँच हजार पाँच सय पचपन्न रुपैयाँ राशीको पुरस्कार सहित सम्मान गरिएको हो । कार्यक्रममा जिल्लाका विविध सम्पर्क सूचनाहरु समेटेर तयार गरिएको फोन डायरीको समेत विमोचन गरिएको छ ।
वि.सं. २०४० मा ‘कुराकानी’ साप्ताहिकमार्फत औपचारिक पत्रकारिताको सुरुवात गरेका शर्मा हालसम्म पनि पत्रकारितामै सक्रिय छन् । पुरस्कार वितरण समारोहमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि प्रभात चलाउनेले कृष्ण सेन सांस्कृतिक योद्धा, लेखक, साहित्यकारका रुपमा मात्र नभई एक महान स्वप्न द्रष्टा भएको बताए । सधैँ साधा जीवन ब्यतित गरेका सेन शब्द र कर्मका उचित मेल भएका व्यक्तित्व भएको बताउँदै प्रमुख अतिथि चलाउनेले सेनको जीवनबाट नेपाली पत्रकारिता र पत्रकारहरुले धेरै कुरा सिक्नुपर्ने बताए । कृष्ण सेनसँग आफ्नो सहकार्य र हिरासतमा सँगै रहेका बेलाको अनुभूति सुनाउँदै चलाउनेले सेनले आफ्नो विचार, आस्था र स्वाभिमानमा कहिल्यै पनि सम्झौता नगरेको बताए । नागरिकको अधिकार रक्षा, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको रक्षामा प्रतिबद्ध भई लाग्ने क्रममा नै उनको कलम र बोलीबाट त्रसित भएर शेरबहादुर देउवाको नेतृत्वमा रहेको तत्कालीन सरकारले सेनालाई कुटी कुटी हत्या गर्न लगाएको उनले बताए । नेपालको सत्ता राजनीतिमा सामन्तवाद गहिरोसँग हावी रहेको बताउँदै चलाउनेले कार्यकर्ताले विचारको बहस गरेको देख्नै नसक्ने र आफ्ना कार्यकर्ताहरुलाई गुलाम मात्र बनाउने प्रवृति हावी रहेको बताए । कृष्ण सेन गुलाम र दास संस्कृतिका विरुद्ध न्याय, समानता र स्वाधीन संस्कृतिको आदर्श भएको उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै पुरस्कृत हुने बरिष्ठ पत्रकार नवराज शर्माले कृष्ण सेन सबैको आदर्श भएको बताए । कृष्ण सेनले सधै आफूलाई जनताको पक्षमा उभ्याएको बताउँदै शर्माले सेनको जीवनबाट सबैले सिक्नुपर्ने बताए । उनले क्रान्तिकारी पत्रकार संगठनले आफूलाई पुरस्कृत गरेकोमा गर्वको अनुभूति गरेको बताए ।
त्यसैगरी नेपाल पत्रकार महासंघका ३ नम्बर प्रदेशका अध्यक्ष प्रताप विष्टले संगठनले सही व्यक्तिलाई पुरस्कृत गरेको भन्दै जनताका पक्षमा कलम चलाएमा सम्मान पाइन्छ भन्ने कुराको अनुभूति भएको बताए । त्यस्तै नेपाल पत्रकार महासंघका ३ नम्बर प्रदेशका सल्लाहकार गिरिजा अधिकारीले कृष्ण सेनको व्यक्तिलाई स्मरण गर्दै प्रेस स्वतन्त्रलाई कुण्ठित गर्ने कार्य भइरहेको बताए । उनले उनले सूचना विभागमा विना कारण रोकिएका पत्रिकाहरुको भुक्तानीको लागि पहल गर्न समेत आग्रह गरे ।
क्रान्तिकारी पत्रकार संगठन नेपाल मकवानपुरकी अध्यक्ष रुपा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका पूर्व केन्द्रीय सचिवालय सदस्य तिलक अधिकारी, प्रेस चौतारी नेपालका प्रकाश दाहाल, प्रेस युनियनका रुपेश दुलाल, प्रेस सेन्टरका प्रतिनिधि, नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका सहसचिव धर्मेन्द्र दाहाल, प्रेस सोसाइटीका मनोज ढोडारी, मिडिया नेपालका जिबराज बख्रेल, आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष अशोक सुजन श्रेष्ठ, क्रियाशील पत्रकार महिलाकी शुभलक्ष्मी प्रभा, तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष चन्द्र घलान, चलचित्र पत्रकार संघका सचिव श्रीराम अर्जुन, लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
