‘नागरिकता नहुनेहरु आफ्नो ठाउँमा फर्किनुहोस्’–गोकर्ण पराजुली

तु खबर संवाददाता
२०७५ जेष्ठ ११, शुक्रबार १९:०४

–जी. न्यौपाने
मकवानपुर, ११ जेठ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष गोकर्ण पराजुलीले सिमलटारका नागरिकता नभएका बासिन्दालाई आफ्नो ठाउँमा फर्कन आग्रह गरेका छन् ।

वि.सं. २०५२ सालदेखि सो स्थानमा बस्दै आएकाहरुलाई ७ दिनभित्र घरटहरा हटाउनका लागि हेटौँडा उपमहानगरपालिकाले सूचना जारी गरेपछि चिन्तामा परेका नागरिकहरुसँग छलफल गर्दै शुक्रबार पराजुलीले त्यस्तो आग्रह गरेका हुन् । सिमलटारमा अवस्थित नारायणी यातायात व्यवसायी संघको जग्गामा टहरा बनाएर बस्दै आएका केही नागरिकहरुको नागरिकता समेत नभएको भन्दै उनले संघ तथा सिमलटारको जग्गा छोडेर आफ्नो स्थायी घरमा फर्कन आग्रह गरेका हुन् ।

उपमहानगरले वस्ती हटाउने निर्णय गरेसँगै नागरिकता भएकाहरुलाई विभिन्न विकल्प सहितको व्यवस्थापन गर्न सकिए पनि नागरिकता नै नभएकालाई भने वडाले समेत सहयोग गर्न नसक्ने अवस्था आउन सक्ने भन्दै उनले परिस्थितिलाई बुझिदिन आग्रह गरेका हुन् । कमजोर अवस्थामा रहेका केहीलाई भने वडाले व्यवस्थापनमा सहयोग गर्ने उनले बताए । साथै वस्तीलाई व्यवस्थित गर्नका लागि वडाले तिन पुस्ते छानविन समेत गर्ने तयारी गरेको उनले बताए ।

सिमलटार टोल विकास संस्थाका अध्यक्ष मधुकुमार थापा मगरले ५९ टहराका लागि विकल्प दिएर मात्र घर टहरा हटाउन आग्रह गरे । छलफलमा अव्यवस्थित बसोबास संरक्षणका अध्यक्ष कमलचन्द्र सुमन, पिडीतका तर्फबाट बासुबहादुर पुडासैनी, मिठु पुरी, सरिता लामा लगायतले आफुहरुले बनाएको घरको उचित क्षतिपुर्ति उपमहानगरपालिकाले दिनुपर्ने बताउँदै क्षतिपूर्ति पाएमा सो स्थान खाली गर्न समेत तयार रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*