लोकल मदिरा खोज्दै मकवानपुर प्रहरी हेटौँडादेखि फापरबारीसम्म

तु खबर संवाददाता
२०७५ जेष्ठ ११, शुक्रबार ०८:४८

हेटौँडा, ११ जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लोकल मदिराको बिक्री वितरणमा रोक लगाउने उदेश्यसहित लोकल मदिरा र लोकल मदिरा बनाउने कच्चा पदार्थ (जाँड) नियन्त्रणका लागि सक्रियता देखाएको छ । यसै क्रममा केही समययता प्रहरीले ठूलो परिमाणमा लोकल मदिरा र कच्चा पदार्थ बरामद गरि नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर मातहतबाट खटेको प्रहरी टोलीले बिहीबार हेटौँडादेखि बाग्मती गाउँपालिकाको फापरबारीसम्म लोकल मदिरा खोज्ने काम गरेको छ ।

एकै दिनमा प्रहरीले मकवानपुरका विभिन्न स्थानहरुमा गरि बिहीबार अन्दाजी ३ सय ५० लिटर तयार लोकल मदिरा र अन्दाजी २ हजार ७ सय ५० लिटर कच्चा पदार्थ बरामद गरेको छ । वडा प्रहरी कार्यालय हेटौँबाट खटेको प्रहरी टोलीले हेटौँडा–४ फरेस्ट्रिमा जाँच गर्दा कर्राबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ह ६९३१ नम्बरको अटोमा १ सय ८० लिटर लोकल मदिरा बरामद गरेको छ । प्रहरीले हेटौँडा १३ बस्ने बर्ष ५१ को राम बहादुर मोक्तान, बर्ष ४५ को सोम माया मगर र बुद्धिमाया तामाङको साथबाट उक्त मदिरा फेला पारेको हो ।

त्यस्तै बिहीबार नै ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटेको टोलीले हेटौँडा ८ तिनकुने स्थित अनिश चित्रकारको घरबाट मदिरा बनाउने कच्चा पदार्थ करिब १५० लिटर र मदिरा बनाउने भाडा १ थान बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटेको प्रहरी टोलीले मनहरी गाउँपालिका वडा नम्बर ३ लामिटारस्थित कालीमाया मोक्तानको घरबाट करिब २० लिटर लोकल मदिरा र मदिरा बनाउने भाडा १ थान बरामद गरेको छ ।

बिहीबार नै ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटेको प्रहरी टोलीले बागमती गाउँपालिका ६ फापरबारीका बिभिन्न क्षेत्रका घर खानतलासी गर्दा मदिरा बनाउने कच्चा पदार्थ अन्दाजी १२०० लिटर र मदिरा बनाउने भाँडा ६ थान बरामद गरेको छ । त्यस्तै प्रहरी चौकी हात्तिसँुडेबाट खटेको प्रहरी टोलीले बकैया गाउँपालिकाको वडा नम्बर ३,४,५,र ६ का बिभिन्न क्षेत्रबाट मदिरा बनाउने कच्चा पदार्थ अन्दाजी ९०० लिटर बरामद गरेको छ । साथै प्रहरी चौकी बसामाडीबाट खटेको प्रहरी टोलीले हेटौँडा ३ जम्बुडाँडा क्षेत्रबाट तयारी घरेलु मदिरा अन्दाजी १५० लिटर , मदिरा बनाउने कच्चा पदार्थ अन्दाजी ५०० लिटर र मदिरा बनाउने भाँडा ५ थान समेत बरामद गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*