कुखुरा व्यवसायीको गुनासो–‘मकवानपुरका एसपीले दुःख दिए’
मकवानपुर, १० जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको नेतृत्व सम्हाल्न आइपुगेका प्रहरी उपरीक्षक (एसपी) लोकेन्द्र श्रेष्ठले कुखुरा व्यवसायीलाई अनावश्यक रुपमा दुःख दिने गरेको आरोप लागेको छ । कुखुराको चल्ला ओसारपसारको लागि आवश्यक सम्पूर्ण कागजात हुँदाहुँदै पनि एसपी श्रेष्ठले चल्लाको गाडी नियन्त्रणमा लिएर पशु क्वारेन्टाइन पथलैयामा पठाएको भन्दै व्यवसायीहरुले त्यस्तो आरोप लगाएका हुन् ।
कुखुरा व्यवसायी संघ मकवानपुरका अध्यक्ष समेत रहेका व्यवसायी राजु अधिकारीले काठमाण्डौंबाट ल्याएको करिब ४ हजार २ सय चल्ला रहेको गाडी सम्पूर्ण कागजात हुँदाहुँदै पनि एसपी श्रेष्ठको निर्देशनमा क्वारेनटाइन पठाइएको आरोप लगाएका छन् । कुखुरा व्यवसायी संघ मकवानपुरका उपाध्यक्ष भूमिनन्द गौतमको लागि छतिवन पठाउँदै गरेको अवस्थाको चल्लाको गाडी हेटौंडा ६ र ७ को सिमानामा पर्ने हरियाली चौकीका हवल्दारसहितले नियन्त्रणमा लिएको अधिकारीले बताए । ‘हामीले बागमती पोल्ट्री प्रा.लि काठमाण्डौंबाट हिजो चल्ला ल्याएका हौं । ५ जना व्यवसायीको लागि ल्याएको चल्ला ४ जनाकोमा पु¥याइसकेपछि छतिवन लैजाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो,’ कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारीले भने, ‘कुखुराको काम गरेको करिब २ दशकको इतिहासमा आजसम्म फट्याइँ काम गरिएको छैन । एक जिल्लाबाट अर्को जिल्लामा लैजाँदा मात्रै बिल, भेटनरीलगायत आवश्यक कागजात बोकेर हिँड्ने नियम रहेको थियो । हामीले सबै कागजात उपलब्ध गराउँदा गराउँदै पनि अनावश्यक दुःख दिएर चल्ला क्वारेनटाइन पठाउने काम भएको छ ।’ उनले भने ।
चल्लाको गाडीमा बिल, भेटनरीलगायतका कागजात नभएको स्वीकार्दै उनले प्रहरीले माग्ने बित्तिकै उपलब्ध गराएको जानकारी दिए । ‘हामीले २ नम्बरी काम गरेको भए सबैखाले सजाय भोग्न तयार रहेका छौं तर सबै कागजात हुँदाहुँदै हाम्रो कुराको सुनुवाई नै भएन’, उनले भने । ईलाका प्रहरी कार्यालय पशुपतिनगरले एकजना हवल्दारलाई चल्लाको जिम्मा लगाएर व्यवसायीले उपलब्ध गराएको कागजातसहित क्वारेनटाइन पठाएको थियो । सञ्चारकर्मीको टोलीले चुरियामाई नजिकै भेटिएका हवल्दारसंग सोध्ने क्रममा उनले आफूसंग केही कागजात नभएको प्रतिकृया दिएका थिए । पछि प्रहरी उपरीक्षक श्रेष्ठसंग कुरा गरेपछि मात्रै उनले कागजपत्र आफैंसंग भएको बताएका थिए । क्वारेनटाइनमा कागजपत्र नदेखाएर उक्त चल्ला अवैध बनाउने प्रहरीको योजना रहेको देखिएको अधिकारीले आरोप लगाए ।
‘गाडीसँगै आवश्यक कागजात नभेटिएकाले क्वारेन्टाईन पठाइएको हो’–एसपी
यता जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले चल्लाको गाडीसंगै आवश्यक कागजात नभेटिएकोले क्वारेनटाइन पठाइएको प्रतिकृया दिए । उनले पछि मात्रै कागजात ल्याइएको बताए । ‘पछिल्लो समय बर्डफ्लूको संक्रमण पनि बढेको छ । कुनै एकदिनको बिल बोकेर इण्डियाबाट अवैध चल्ला ल्याउने प्रचलन पनि बढेको छ’, उनले भने,‘त्यही भएर हामीले नियन्त्रणमा लिएर क्वारेनटाइन पठाएका हौं । बाँकी कुरा उतैबाट टुङ्गिनेछ ।’ यता पशु क्वारेनटाइन पथलैया बाराले भने चल्लाको लागि आवश्यक सबै कागजात भएको र बैधानिक तवरबाट ल्याएको भन्दै चल्ला हेटौंडा फिर्ता गरिदिएको छ । प्रहरीको लापरबाहीका कारण प्राय ः सबै चल्ला मरेको व्यवसायीले बताएका छन् ।
