जिल्ला समन्वय समितिको कार्यालयमा अख्तियारको छापा
नुवाकोट ९ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला समन्वय समिति को कार्यालय नुवाकोटमा आज छापा मारेर सामाजिक सुरक्षाभत्ता वितरणसम्बन्धी सक्कल कागजात जफत गरेको छ ।
यहाँ वितरण भएका सामाजिक सुरक्षा भत्ताको सूचीमा मृत्यु भइसकेका र हँुदै नभएका व्यक्तिको नाममा रकम निकासा भएको सूचना बाहिर आएपछि अख्तियारको टोलीले छापा मारेको राससले जनाएको छ ।
अख्तियारको टोलीले जिससको कार्यालयमा पुगेर आव २०६८/०६९ देखि चालु आव २०७४÷०७५सम्मको सामाजिक सुरक्षा भत्ताको कागज नियन्त्रणमा लिएर कारबाहीको लागि अनुसन्धान शुरु गरेको अख्तियारका शाखा अधिकृत कृष्णबहादुर दाहालले जानकारी दिए ।
अख्तियारले आव २०६८/६९ देखि २०७३/७४ सम्मको फाइल जिससबाट र चालु आव २०७४/०७५ को फाइल बेलकोटगढी नगरपालिकाबाट मगाउन लगाएर नियन्त्रणमा लिएको जनाएको छ । कुमरीलगायतका केही स्थानमा वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता मृत्यु भइसकेका र हुँदै नभएका व्यक्तिलाई समेत कीर्ते कागज खडा गरी रकम निकासा भएको भन्दै सरोकारवालाले सूचना बाहिर ल्याएपछि अख्तियारले सक्रियता देखाएको हो ।
