सुनकाण्डका २८ जना जेल चलान, २ जना रिहा
काठमाडौँ, ८ जेठ । साढे ३३ किलो सुनकाण्डमा मुछिएका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी दिवेश लोहनीसहित २८ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । मोरङ जिल्ला अदालतले मंगलबार ८ जना प्रहरीसहितको उनीहरुलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश गरेको हो । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको आदेशले उनीहरु पुर्पक्षका लागि जेल चलान भएका हुन् ।
१ जनालाई धरौटी र एक जनालाई सामान्य तारिखमा छाडिएको छ । विष्णुबहादुरलाई १५ हजार धरौटी र अम्मर बहादुर थापालाई सामान्य तारिखमा छाडिएको हो । जिल्ला न्यायाधीश शर्माको इजलाशले ११ दिन बहस सुनेपछि सो आदेश गरेको हो । शर्माको इजलासमा बैशाख २७ गतेदेखि बहस सुरु भएको थियो । अभियुक्तका तर्फबाट ६० र ४ जना सरकारी वकिलहरुले उक्त मुद्दामा बहस गरेका थिए । प्रहरीको एक महिना लामो अनुसन्धानपछि बैशाख २६ गते जिल्ला सरकारी वकिलको कार्यालयले बहालवाला प्रहरी अधिकृतसहित ३२ जनालाई पक्राउ गरी आरोपपत्रसँगै अदालतमा पेस गरेको थियो ।
उनीहरु विरुद्ध संगठित अपराध अन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको थियो । मुद्दामा प्रहरीका उच्च अधिकारी लगायत ६३ जना विपक्षी रहेका छन् । मिलेमतोमा सुन तस्करी गर्ने गोरे समूहले त्रिभुवन अन्र्राष्ट्रिय विमानस्थलबाट हालसम्म ३८ सय किलो सुन तस्करी गर्दै १७ अर्ब १ करोड ८० लाख रुपैयाँ राज्यलाई नोक्सान पुर्याएको दाबी अभियोगपत्रमा गरिएको छ । सुन तस्करीका मुख्य नाइके भनिएका चूडामणि उप्रेती गोरे भने मंगलबार मात्र पक्राउ परेका छन् । मंगलबार दिउँसो गृहमन्त्रालयमा पत्रकरा सम्मेलन गरि सार्वजनिक गरिएका गोरेलाई मंगलबार नै जिल्ला अदालत मोरङ पुर्याइएको छ । उनको बयान बुधबारदेखि हुने छ । गोरेले गृहमन्त्रालयको छानबिन समितिसमक्षमा आफूले प्रहरी अधिकारीहरुको सहयोगमा सुन ल्याउने गरेको स्वीकार गरिसकेका छन् ।
