मनहरी गाउँपालिकाद्वारा ७ वटा बिधेयक पारित

तु खबर संवाददाता
२०७५ जेष्ठ ६, आईतवार २०:२७

मकवानपुर ६ जेठ । मनहरी गाउँपालिकाको दोस्रो गाउँसभा भएको छ । सभामा बिषयगत समितिका संयोजकहरुले पेस गरेका ७ वटा बिधेयक पारित गरिएको छ ।
गाउँपालिका केन्द्र रजैयामा सम्पन्न भएको गाउँ सभामा न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनु पर्ने कार्यबिधीका सम्बन्धमा ब्यबस्था गर्न बनेको ऐन, विपद् जोखिम न्यूनिकरण तथा ब्यवस्थापन गर्न बनेको ऐन, कृषि ब्यबसाय प्रबद्र्धन ऐन, सहकारी ऐन, शिक्षा ऐन, प्रशासकीय कार्यबिधि नियमित गर्ने ऐन र आर्थिक कार्यबिधि नियमित तथा ब्यबस्थित गर्ने ऐन लगाय बिधेयकको रुपमा प्रस्तुत भएको थियो ।
परिषदमा प्रस्तुत सबै ऐनहरुलाई कार्यपालिका बैठकमा पारित गरी गाउँसभामा पेस गरिएको थियो । पेस गरिएका बिधेयकहरुलाई सभासदहरुले ‘संसद’ कै शैलीमा हात उठाएर तथा ध्वनी मतले पारित गरेका थिए ।
पारित भएको १५ दिन भित्रमा राजपत्रमा प्रकाशित गरी सबै ऐनलाई स्थानीय सरकारले कार्यान्वयन गर्नेछ । ऐन पारित भएपछि सोही ऐनको आधारमा स्थानीय सरकारका कामहरुलाई कार्यान्वयन गर्दै व्यवस्थित गर्न सजिलो पर्ने गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए । ‘कतिपय कानूनी झन्झटहरु थिए’, अध्यक्ष उप्रेतीले भने–‘अब त्यस्तो झन्झटहरुलाई ऐनले सम्बोधन गरेको छ ।’
त्यसैगरी कार्यपालिकाबाट पारित भएका कार्यबिधि तथा निर्देशिकालाई परिषदमा प्रस्तुत गरिएको थियो । कार्यबिधि तथा निर्देशिकाहरुलाई मनहरी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष तथा बिधेयक समितिका संयोजक आनन्द घलानले प्रस्तुत गरेका थिए । घलानले बजार अनुगमन निर्देशिका, अनुदान तथा आर्थिक सहायता निर्देशिका, मर्म सम्भार विशेष कोष सञ्चालन निर्देशिका, राजपत्र सम्बन्धि कार्यबिधि, घ वर्गको निर्माण ब्यबसाय इजाजत सम्बन्धि कार्यविधि, उपभोक्ता समिति गठन कार्यबिधि, एकिकृत सम्पति कर ब्यबस्थापन कार्यबिधि, करार कर्मचारी सम्बन्धी कार्यबिधि, टोल बिकास संस्था सम्बन्धी कार्यबिधी र घर नक्सा पास गर्ने कार्यबिधी कार्यविधि तथा निर्देशिका प्रस्तुत गरेका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले चालू आर्थिक वर्ष २०७४÷७५ को प्रगति प्रतिवेदन पेस गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*