पार्टी एकता विश्वकै असाधारण घटना : प्रचण्ड

तु खबर संवाददाता
२०७५ जेष्ठ ५, शनिबार १३:५०

काठमाडौं, ५ जेठ /नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता सामान्य परिघटना नभइ असाधारण रहेको बताएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बसेको नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले एकता प्रक्रिया नेपालको मात्रै नभइ विश्वकै असाधारण घटना भएको बताए ।

कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन र नयाँ परिस्थितिमा समाजवादको यात्रा तय गर्नका लागि एमाले र माओवादी केन्द्रको एकताले मार्ग प्रशस्त गरेको उल्लेख गरे । दुई पार्टीको एकतापछि देश र विदेशबाट बधाईका सन्देश लगातार आइरहेको जानकारी दिँदै उनले विश्व समुदायले पनि नेपालको पछिल्लो राजनीतिक घटनालाई नजिकबाट नियालीरहेको बताए ।

आफूहरुको काँधमा महत्वपूर्ण जिम्मेवारी आएको उल्लेख गर्दै उनले भने, ‘जनताको अपेक्षा पूरा गर्न र देशलाई आर्थिक समृद्धिको दिशामा लैजान पनि एकता इतिहासकै महत्वपूर्ण घटनाक्रमका रुपमा स्थापित भएको छ ।’

इतिहास, नेपाली जनता र देशले दिएको जिम्मेवारी पूरा गर्ने लक्ष्यका साथ आफूहरु एकीकृत रुपमा अगाडि बढ्ने संकल्प गरेको र त्यो पूरा भएको उनको भनाइ थियो । विकास समृद्धिको यात्रालाई प्रभावकारी रुपमा अगाडि बढाउने दायित्व समेत नेपाल कम्युनिष्ट पार्टी र वर्तमान सरकारको काँधमा आएको अध्यक्ष दाहालले स्पष्ट पारे ।

केही दिनभित्रै वर्तमान सरकारको नीति तथा कार्यक्रम आउने र नयाँ सरकारको बजेट समेत प्रस्तुत हुने उल्लेख गर्दै उनले ठूला ठूला परियोजना र राष्ट्रिय गौरवका आयोजनालाई पूरा गरेरै छाडिने दृढता व्यक्त गरे।

विगतको भन्दा जनताको विकास प्रतिको चाहनालाई केन्द्रमा राखेर सरकारको नीति तथा कार्यक्रम र बजेट आउने भन्दै उनले नयाँ सरकार बनेको अनुभूति दिइने स्पष्ट पारे ।

सरकारको सबै तहलाई सन्तुलनमा राखेर जनताको अपेक्षा पूरा गर्ने तथा गराउने तर्फ आफूहरु प्रतिबद्ध भएर लाग्ने समेत उनको भनाइ थियो । दुई पार्टीको एकता पछि आज तत्कालीन एमाले र माओवादी केन्द्रका सांसदको संयुक्त बैठक बसेको हो । – रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*