प्रहरी महानिरीक्षक खनालद्वारा दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालयको जेठ ३ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नती भएका प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह लगाइदिएका छन् ।
उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षकमा पदोन्नती भएका १६ जना र प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नती भएका २२ जनामध्ये २१ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह लगाइएको हो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नती भएका प्रहरी अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतीसँगै पदीय जिम्मेवारी समेत बढ्ने हुनाले सोही अनुरुप कार्य गरी उत्कृष्ट प्रहरीको रुपमा आफूलाई चिनाउन निर्देशन दिए ।
संगठनको नीति र उद्देश्यप्रति गम्भीर भई तोकिएको जिम्मेवारी दृढतापुर्वक पुरा गर्नुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक खनालले कानुनी रूपमा विभेद नगरी समान न्याय गर्नुपर्ने, अपराधजन्य क्रियाकलाप र तिनमा संलग्न व्यक्तिहरूप्रति कठोर भई निर्भिकताकासाथ काम गर्नुपर्ने बताए । कार्यालय तथा कामको दुरुस्ततामा ध्यान दिनुपर्ने र प्रहरी कर्मचारीलाई सम्पादित कामको आधार, अनुभव र अन्य मुल्याङकनको आधारमा वृत्तिबिकास गर्नेतर्फ संगठन सदैव सकारात्मक रहने चर्चा गरे ।
उक्त अवसरमा पदोन्नती भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक केदार रिजालले संगठनले दिएको जिम्मेवारी संगठनको नीति अनुसार पूर्ण व्यावसायिक भई कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक डा। दिनेशचन्द्र पोखरेल, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।
