प्रविधि अपांगतामैत्री हुनुपर्ने माग
काठमाडौँ ३ जेठ/ अपांगता भएका अधिकारकर्मीहरुले सूचना, सञ्चार र प्रविधि अपांगतामैत्री हुनुपर्ने माग गरेका छन् ।
सातौँ विश्व पहुँच सचेतना दिवसको अवसरमा राष्ट्रिय अपांग महासंघ नेपालद्वारा यहाँ बिहीबार आयोजित अन्तक्रियामा अधिकारकर्मीहरुले प्रत्येक सञ्चारमाध्यम अपांगतामैत्री हुनुपर्नेमा जोड दिएका छन् ।
महासंघका महासचिव राजु बस्नेतले अपांगतामैत्री भौतिक संरचना र अपांगतामैत्री प्रविधि बन्न सुरु भए पनि त्यसले पूर्णता पाउन नसकेको बताए । टेलिकमले गत वर्षदेखि सुनाइ र बोलाइसम्बन्धी अपांगता भएका व्यक्तिका लागि सहुलियत दरमा भिडियो कल र एसएमएस सेवा सुरु गरेको छ ।
सरकारले अपांगता भएका व्यक्तिका लागि ‘पहुँचयुक्त सञ्चार सेवा’ र प्रेस काउन्सिल नेपालले ‘अपांगतामैत्री सञ्चार निर्दे्शिका’ जारी गरेसँगै सञ्चारमाध्यम केही मात्रामा भए पनि अपांगतामैत्री बन्दै गएको पाइन्छ ।
निर्दे्शिकामा ‘पत्रकार र सञ्चारमाध्यमले सांकेतिक अभिव्यक्तिका क्रममा अपांगता भएका व्यक्तिको गरिमामा प्रतिकूल असर पर्ने परम्परागत प्रचलनमा रहेका शब्द, शब्दावली, उपमा वा उखान टुक्काको प्रयोग गरी समाचार सम्प्रेषण गर्नु हुँदैन भनिएको छ ।
दृष्टिविहीनसम्बन्धी अपांगताका लागि पुस्तक पढ्न सक्ने ‘अडियो पुस्तक’ को समेत व्यवस्था गरिएको छ । प्रविधिका कारण न्यून दृष्टियुक्त व्यक्तिले कम्प्युटर र अडियोबाट पनि अध्ययन गर्न सक्छन् ।
महासंघका उपाध्यक्ष टीका दाहालले सबै प्रकारका अपांगता भएका व्यक्तिलाई समेत पहुँचयुक्त बनाउनका लागि नीतिमै सुधार गर्नुपर्नेमा जोड दिए ।
महासंघका कार्यक्रम अधिकृत विमल पौडेलले २०६८ सालमा सरकारले ल्याएको वेबसाइट निर्माण निर्दे्शिकाको संशोधनसहित कार्यान्वयन गर्नुपर्ने बताए ।
रासस
