मकवानपुर उद्योग वाणिज्य संघले दक्षिण कोरियामा यस्तो गर्यो सम्झौता
दक्षिण कोरिया, २ जेठ । मकवानपुर उद्योग वाणिज्य संघले आज दक्षिण कोरियाको किम्हे माईग्रेन्ट हाउससंग द्विपक्षीय सम्झौता गरेको छ । आधुनिक प्रविधि, लगानी र आवश्यक जनशक्ति भित्र्याउने विषयमा द्विपक्षीय सम्झौता गरिएको संघका अध्यक्ष कृष्ण कटुवालले बताए । सम्झौता पत्रमा संघको तर्पmबाट अध्यक्ष कटुवालले र किम्हे माईग्रेन्ट हाउसको तर्पmबाट अध्यक्ष यज्ञराज सुवेदीले हस्ताक्षर गरेका थिए ।
आजै भ्रमण टोलीले गिम्हे उद्योग वाणिज्य संघसंग पनि छलफल गरेको छ । छलफलको क्रममा गिम्हे उवासंघका पदाधिकारीहरुले मकवानपुर उद्योग वाणिज्य संघसंग भगिनी सम्बन्ध कायम गर्न चाहेको बताएका थिए । आगामी दिनमा दुवै देशबीच व्यावसायिक वातावरण तयार गर्ने विषयमा छलफल केन्द्रीत रहेको सचिव विष्णु गोपाल महर्जनले बताए । भ्रमण टोलीले दक्षिण कोरियाको प्रसिद्ध मदिरा ‘सोजु’ उद्योगको पनि अवलोकन गरेका छन् । विभिन्न सम्भावित उद्योगहरुमा लगानी र व्यापारको विषयमा पनि छलफल भएको भ्रमण टोलीका सदस्य कासस कृष्ण प्रसाद ढुंगानाले बताए ।

किम्हे माईग्रेन्ट हाउस, गिम्हे उवासंघ र सोजु मदिरा उद्योगबीच भएको छलफल अत्यन्तै सकारात्मक रहेको प्रतिक्रिया दिंदै संघका पूर्वअध्यक्ष एवं नेउवामहासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गिले दक्षिण कोरियाली संस्थाहरुबाट प्राप्त सद्भाव र आत्मीयताले भ्रमण टोली प्रभावित भएको र भ्रमण अत्यन्तै लाभदायक हुने कुरामा दुईमत नभएको बताए ।
