सरकारमाथि भरोसा गर्न संकेत देखिएको छैन्ः नेता निधि

तु खबर संवाददाता
२०७५ बैशाख ३१, सोमबार २१:१३

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारमा आन्तरिक धमिरा लाग्न शुरू भइसकेको बताएका छन् ।

काँग्रेस धनुषाको १३ औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले भने, “सरकारमाथि भरोसा गर्न सक्ने सङ्केत देखिएको छैन् । ”

उपसभापति निधिले सरकारको क्रियाकलापले संघीय संरचना र संविधानमाथि खतरा उत्पन्न हुन थालेको उल्लेख गर्दै सरकार देशभक्ति र राष्ट्रियतालाई चाकडीमा परिणत गरिसकेको आरोप लगाए ।

काँगे्रस लोकतन्त्रको सुरक्षाको गार्ड भएको चर्चा गर्दै उनले लोकतन्त्रको रक्षा सन्दर्भमा कतिपय अवस्थामा काँगे्रसलाई हार भए पनि लोकतान्त्रिक प्रणालीको रक्षा गर्नमा सफल भएकाले निराश नभई संगठित हुनु जरूरी भएको धारणा व्यक्त गरे ।

उपसभापति निधिले प्रदेश नं २ को सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन समारोहमा आन्तरिक समस्या प्रस्तुत गरेर आफ्नो कमजोरी प्रदर्शन गरेको बताउँदै संविधान संशोधनको कुरा मोदीलाई होइन, प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राख्नुपर्दछ भने ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्यहरू आनन्दप्रसाद ढुंगाना र महेन्द्र यादव, पूर्वमन्त्री रामकृष्ण यादव, सांसदद्वय स्मृतिनारायण चौधरी र मीनाक्षी झालगायतले अन्तरघात, स्वेच्छाचारिता, गुट, संकीर्णता, विभेद र अनुशासनहीनताले कार्यकर्तामा चिन्ता र निराशा बढ्दै गएको बताए । – रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*