ब्रेन ह्याम्रेजका कारण ३ नम्बर प्रदेशसभा सदस्य लामिछानेको निधन
हेटौँडा, ३१ बैशाख । ब्रेन ह्याम्रेजका कारण ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्य हरिशरण लामिछानेको सोमबार निधन भएको छ । चाँगुनारायण नगरपालिका–६ तेलकोटवासी लामिछाने एमालेको तर्फबाट भक्तपुर क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ घर फर्किएका उनलाई आइतबार ब्रेन ह्यामरेज भएको थियो । उनको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार गर्दै गर्दा सोमबार दिउँसो निधन भएको हो ।
लामिछानेको निधनपछि बसेको ३ नम्बर प्रदेश मन्त्रीपरिषदको आकस्मिक बैठकले उनको निधनप्रति दुःख व्यक्त गरेको छ । बैठकले दिवगंत आत्माको चीर शान्तिको कामना गर्दै परिवारजन र आफन्तमा समवेदना प्रकट गरेको छ । बैठकले लामिछानेको अन्त्येष्टीमा अन्तिम सम्मानको व्यवस्था गर्न गृहमन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको छ ।
