राष्ट्रिय भुमि अधिकार मञ्च मकवानपुरको ४ बुदें माग ३ नम्वर प्रदेशका मुख्यमन्त्रीलाई ,के छ ज्ञापनपत्रमा ?
मकवानपुर ३० बैसाख । राष्ट्रिय भुमि अधिकार मञ्च मकवानपुरले ४ बुँदे माग राख्दै प्रदेश नम्बर ३ का मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई आईतबार ज्ञापनपत्र बुझाएको छ । जिल्ला भुमि अधिकार मञ्च मकवानपुरका अध्यक्ष टंकप्रसाद चौलागाईको नेतृत्वमा गएको टोलीले प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल र प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई ज्ञापनपत्र बुझाएको हो ।
टोलीमा जिल्ला भुमि अधिकार मञ्चकी जिल्ला सचिव मिरा स्याङ्तान, कोषाध्यक्ष डोल्मा स्याङ्बो, सहसचिव यज्ञबहादुर श्रेष्ठ, सामुदायिक आत्मनिर्भर केन्द्रका जिल्ला संयोजक राम शाही लगायतको सहभागिता रहेको थियो ।
मञ्चले मकवानपुरको बि.सं. २०२२ र २०३२ सालमा नापी भई वसोवास तथा भोगचलनमा रहेका जग्गा नापजाँच गरी सम्वन्धित भोगकर्ताको नाममा जग्गा दर्ता गर्न माग गरेको छ । साथै नापी भईसकेको जोतभोगको हकमा स्थानिय तहमै अनुगमन गरी लालपुर्जा वितरण गर्न पनि माग गरेको छ । भुकम्प पीडित लाभग्राही सुचिमा नाम आएका तर जग्गाधनी प्रमाणपुर्जाको कारणले अनुदान सम्झौता गर्न नपाएका ८ हजार २ सय ३७ परीवारसँग सोहि ठाउँमा बसोवास गरेको अन्य प्रमाणको आधारमा छिटो भन्दा छिटो अनुदान सम्झौता गर्नुपर्ने राष्ट्रिय भुमि अधिकार मञ्चको दाबी छ ।
‘बाढि, पहिरोको जोखिम भएको खण्डमा सुरक्षित वसोवास तथा जिविकोपार्जनमा समेत विचार गरी पुर्नस्थापनाको व्यवस्था गरीयोस्’ मञ्चद्वारा बुझाईएको ज्ञापनपत्रमा उल्लेख छ ।
प्रदेश नम्बर ३ को भुमि तथा कृषि सम्वन्धि ऐन वनाउँदा राष्ट्रिय भुमि अधिकार मञ्चका पदाधिकारीलाई पनि समावेश गराउन माग गर्दै मञ्चले गुनासो दर्ता गरेका भुकम्प प्रभावित परिवारको स्थलगत अध्ययन मार्फत् पुनःसर्वेक्षण गरी स्थानीय तहको अगुवाईमा छिटो भन्दा छिटो गुनासो सम्वोधन गरी अनुदान सम्झौता गर्न पनि माग गरेको जिल्ला भुमि अधिकार मञ्चका सहसचिव यज्ञबहादुर श्रेष्ठले बताए ।
