कमानेमा तास खेलिरहेका ७ जना जुवाडे पक्राउ
हेटौँडा, २८ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा शुक्रबार दिउँसो तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ का १ जना, वडा नम्बर ४ का १ जना, वडा नम्बर ८ बस्ने २ जना, बकैया गाउँपालिका वडा नम्बर ७ बस्ने २ जना र रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर २ बस्ने १ जनालाई पक्राउ गरेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा– ८ कमानेस्थित बिमल सोरालीको घरमा पैसाको हारजित हुने गरी बाजी राखी तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट १४ हजार १ सय १२ रुपैयाँ नगद र २११ पत्ती तास फेला परेको बताइएको छ ।
